रूपन्देही, १६ पुस । बुटवलदेखि पाल्पाको नुवाकोटगढीसम्म केबुलकार सञ्चालनका लागि पूरक वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भएको छ । यसअघि वातावरणीय प्रभाव मूल्यांकन भइसके पनि वनक्षेत्र परेको र आयोजनाको क्षमता थप गर्नुपर्न भएकाले वन मन्त्रालयले पूूरक वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत गरेको हो ।
ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व बोकेको मणि मुकुन्दसेन उद्यान फूलबारीदेखि उत्तर पूर्वपट्टि रहेको देउरालीबाट पाल्पाको नुवाकोटगढीसम्म सिद्धार्थ केबुलकार प्राइभेट लिमिटेडले केबुलकार सञ्चालनको प्रक्रिया थालेको हो । पूरक वातावरणीय प्रभाव मूल्यांकन भएपछि केबुलकार जाने बाटोमा पर्ने एक हजार २०० रूख काटिने सिद्धार्थ केबुलकार प्रालिका अध्यक्ष राजेन्द्र सिंह गुरुङले जानकारी दिए ।
यसअघि वन मन्त्रालयको स्वीकृतिमा पहिलो चरणमा बटम स्टेशनका लागि ३८ ओटा रूख काटिएका थिए । ‘२ वर्षभित्र सञ्चालन गर्नेगरी प्रक्रिया अघि बढाएका छौं,’ गुरुङले भने, ‘पूरक वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भएपछि अब काम अघि बढ्छ ।’
पहिलो चरणमा ९९ जना स्थानीय व्यवसायीले रू ८० करोड लगानी गरी प्रक्रिया थलिएको उनले बताए । केबुलकारका लागि ६ दशमलव ९८ हेक्टर जग्गा प्रस्ताव गरिएको थियो । फूलबारीदेखि तल्लो स्टेशन देउरालीडाँडासम्म जाने ५०० मिटर बाटो तथा पार्किङका लागि २ दशमलव ८८ हेक्टर जग्गा प्रस्ताव गरिएको थियो आजको अभियानमा खबर छ। आगामी ५ महीनाभित्र रूख कटानको काम सकिने अध्यक्ष गुरुङले बताए ।
फूलबारीदेखि उत्तर पूर्वपट्टिको देउरालीबाट पाल्पाको नुवाकोटगढीसम्म सञ्चालन हुने सो केबुलकारको लम्बाइ २ किमी हुनेछ । बुटवल–नुवाकोट केबुलकारका लागि सिद्धार्थ केबुलकार प्रालिले डीपीआरसमेत बनाइसकेको छ ।
केबुलकार सञ्चालनका लागि मन्त्रिपरिषद् बैठकले अनुमति दिने निर्णय गरेको थियो । त्यसलगत्तै वन तथा भूसंरक्षण विभाग र सिद्धार्थ केबुलकार प्रालिबीच सम्झौता भएको थियो । केबुलकारमा एक पटकमा आठजनासम्म बस्न मिल्ने २२ वटा गुन्डोला ९डब्बा० रहनेछन् । एक घण्टामा ५०० जना व्यक्ति ओसारपसार गर्न सक्ने केबुलकार छनोटका लागि विभिन्न कम्पनीको दररेट र गुणस्तर अध्ययन गर्ने काम भइरहेको प्रालिले बताएको छ ।











