तुलसीपुर, १५ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नं। ३ मा बाटो निर्माणका नाममा भइरहेको उत्खनन् तत्काल रोक्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश दिएको छ । उक्त क्षेत्रमा अवैध रूपमा उत्खनन भइरहेको रोक्नुपर्ने मागसहित अदालतमा निवेदन परेपछि त्यसको सुनुवाई गर्दै उच्चले रोक्न आदेश गरेको हो ।
उत्खनन्ले खानेपानीको मुहान तथा पाइपमा क्षति पु¥याएको, वातावरणीय प्रभाव पारेको वन सम्पदा क्षति पु¥याएको र कानुन मिचेको भन्दै उत्खनन् कार्य रोक्न माग गरेर तुलसीपुरमा नविन बुढाथोकीसहितले दिएको निदेवनमा न्यायाधीश शालिकराम कोइरालाको एकल इजलासले आन्तरिक आदेश जारी गरेको हो ।
अनाधिकृत रूपमा पहाड उत्खनन् गरी वातावरणमा नकारात्मक प्रभाव पार्ने काम गरेको भन्दै अदालतले सोमबार पुस २१ गतेसम्मका लागि काम रोक्नु भन्दै अन्तरिम आदेश दिइएको छ । आदेश जारी गरेको १५ दिनभित्र आफै वा आफ्नो कानुन व्यवसायीमार्फत लिखित जवाफ दिनुपर्ने र उत्खनन्् कार्य तत्काल रोक्नुपर्ने उल्लेख गरिएको छ ।
दुई साता अघिदेखि विकासका नाममा अनाधिकृत तवरले पहाड उत्खनन् गरेको भन्दै आइतबार नवीन बुढाथोकीले आठजना विरूद्ध अदालतमा मुद्दा दर्ता गराएका थिए । तुलसीपुर उपमहानगरपालिकासहित आठजना विरूद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता गरिएको हो ।
गैर कानुनी रूपमा पहाड उत्खनन् गर्दा पानीको मुहान, वनजंगल, चुन ढुङ्गा, सिंचाई तथा सडकलाई प्रत्यक्ष रूपमा असर पारेको भन्दै तुलसीपुर उपमहानगरपालिका, जिल्ला वन कार्यालय, भगवती सामुदायिक वन उपभोक्ता समूह, कर्णबहादुर बुढा, लालबहादुर पुन, ठेकेदार अनुप पाण्डे र तथ्य ईन्जिनियरिङ कम्पनीका प्रतिनिधि जनक डाँगीविरूद्ध अदालतमा मुद्दा परेको छ ।
सोमबारको इजलासमा अधिवक्ता डिल्लीराज धिताल, प्रदिप धिताल, प्रविण लम्साल, अरूणकुमार आचार्य, शालिकराम रेग्मी, मधुसुधन गौतमलगायतले वहस गरेका थिए । प्रदेश टुडेबाट











