सल्यान, २४ मंसिर । सल्यानमा पहिलोपटक अत्याधुनिक प्रविधिबाट च्याउको बिउ उत्पादन शुरू भएको छ । जिल्लाको शारदा नगरपालिका–१३ सांगारमूलमा सञ्चालित नवयुग प्रेरणा एग्रिकल्चर प्रालिले च्याउको बिउ उत्पादन शुरू गरेको हो ।
रू. २८ लाखको लगानीमा बिउ उत्पादन थालेको सञ्चालक लालबहादुर बस्यालले बताए । प्रदेश सरकारअन्र्तगत कृषि मन्त्रालयको गत आवको रू। १० लाख अनुदान र आफ्नो करीब १८ लाख रुपैयाँ लगानीबाट च्याउको बिउ उत्पादन थालेको उनले जानकारी दिए । सल्यान र आसपास जिल्लाका च्याउ उत्पादक किसानलाई गुणस्तरीय च्याउको बिउ पुर्याउने उद्देश्यले बिउ उत्पादन थालिएको उनको भनाइ छ ।
२०७१ देखि च्याउ खेती गर्दै आएका उनले गत वर्षदेखि बिउको पनि उत्पादन थालेका हुन् । उनले भने, ‘अहिले कन्या च्याउको बिउ उत्पादन गरिरहेको छु, किसानको मागअनुसार अन्य च्याउको बिउ पनि उत्पादन गर्नेछु ।’
महीनामा २५० ग्रामका २५ हजार प्याकेट च्याउको बिउ उत्पादन गर्न सकिने सञ्चालक बस्याल बताउँछन् । दैनिक ८०० प्याकेट बिउ उत्पादन गर्ने क्षमता भए पनि मागविनाको उत्पादन खेर जाने भएकाले मागअनुसार नै उत्पादन गरिरहेको उनले जानकारी दिए । च्याउको बिउलाई स्टोर गर्न नमिल्ने उनी बताउँछन् । अभियानबाट











