सर्लाही, २४ असार ।
सर्लाहीको ढुंग्रे–८, धरहरा र सुकेपोखरीमा रहेका सयौं सुकुम्वासीहरुमाथि सरकारले गरेको बर्बर दमनको नेपाल कम्युनिष्ट पार्टी माओवादीले भत्सर्ना गरेको छ । वर्षौंदेखि बस्दै आएको सुकुम्वासीलाई नहटाउन र उचित माग पूरा गर्न समेत आग्रह गरिएको छ ।Biplob-dang-2-21-358x300

एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अढाई दशकदेखि बस्दै आइरहेका सुकुम्वासीमाथि सरकारले भ्रष्टचारी र जग्गा दलालसँग मिलेर बर्बर दमन गरेको भन्दै दमनप्रति घोर आपत्ति जनाएका हुन् ।

साथै जग्गा व्यापारीसँगको मिलेमतोमा सरकारले जनता र जनताको बस्तीमा आतंक मच्चाएको भन्दै आक्रोश पोखेका छन् । ‘कथित माओवादी’को सहभागिता रहेको जनताको आवाज दबाउन निरंकुशतापूर्वक दमन गरेको उल्लेख गर्दै झण्डै ४० वर्षअघि २५ सय हेक्टर सरकारी जग्गा हडपेर सागरनाथ वन विकास परियोजनाले यहाँका काठ तस्कारी गर्दै आइरहेको र तिनै परियोजनाका तस्कर र भ्रष्टचारीको संरक्षणको लागि जग्गा दलाल र व्यापारीसँग मिलेर सुकुम्वासी बस्तीमा सरकारले सुरक्षा फौज लगाई आतंक मच्चाएको ठहर माओवादीको रहेको छ ।

‘त्यहाँ अवस्थित २५ सय हेक्टर सरकारी जमिन २०३५ देखि सागरनाथ वन विकास परियोजनाले हडपेको र त्यहाँका राम्रो रुखहरु टिम्बर कर्पोरेशन अफ नेपालले काटेर बेची चरम भ्रष्टाचार गरेको थियो । त्यसरी रुख काटिएको जमिनमा टाकिया रुखको खेती गर्ने योजना भए पनि उक्त सागरनाथ वन परियोजनाले वेवास्ता गरेपछि त्यहाँका जनताद्वारा टाकिया संघर्ष समिति बनाइएको थियो’ विज्ञप्तिमा भनिएको छ ।

तत्कालीन सरकार जग्गा दलालहरुको पृष्ठपोषक बनेर त्यहाँ रहेका उच्च जातको रुख काटेर तस्करी गरेको पत्ता लागेपछि त्यतिबेला त्यहाँका स्थानीयले टाँकिया संघर्ष समिति बनाई सरकारी जग्गालाई परियोजनाको स्वार्थमा पर्नबाट जोगाउन पहल समेत गरियो । तर विभिन्न हतकण्डबाट परियोजनाले उक्त जग्गा आफनो बनाइयो । टाकिया रुखको बिरुवा लगाइएन ।

त्यसपछि रुख कटानपटि बनेको खाली जग्गामा सरकारकै उच्च पदाधिकारी उपसचिव, परियोजना प्रमुख र सुकुम्वासी पक्ष सहभागितामा भएको निर्णयले २०५० सालदेखि देशका विभिन्न ठाउँबाट आएका बाढी पहिरोमा परेका भूमिहीनहरुलाई सरकारले नै बसोबास गर्न दिँदै आइरहेको बेला यही असार २१ गते सरकारले सुरक्षा फौज परिचालन गरेर सुकुम्वासीमाथि दमन गरेको हो ।।