काठमाडौं, २२ कार्तिक । सरकारले विश्वविद्यालयबाट प्राज्ञिक डिग्री पूरा गरेपछि मात्र पेसागत डिग्री प्रदान गर्ने गरी शिक्षा नीति बनाएको छ । शिक्षाशास्त्र पढेकालाई सीधै शिक्षण पेसामा लगाउँदा गुणस्तर खस्किएपछि सरकारले प्राज्ञिक डिग्री पूरा गरेपछि मात्र पेसागत डिग्री दिने नीति बनाएको हो ।

asthai teacherराष्ट्रिय शिक्षा नीति १८ कात्तिकमा मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राज्ञिक तथा पेसागत डिग्रीको एकीकरण गरिएको अहिलेको शिक्षाशास्त्रका कार्यक्रमहरूको पुनरावलोकन गरी प्राज्ञिक डिग्री पूरा गरेपछि मात्र पेसागत डिग्री प्रदान गर्ने व्यवस्था लागू गर्ने नीति लिएको बताए ।

सरकारले बनाएको शिक्षा नीति कार्यान्वयन भएमा अब शिक्षण पेसामा संलग्न हुन शिक्षाशास्त्र अध्ययन गर्नुपर्ने अनिवार्य नहुने भएको छ । शिक्षण गर्न बिएड मात्र होइन, अब त्यो विषय पढेकाले पनि छुट्टै प्रोफेसनल कोर्ष पढ्नुपर्ने व्यवस्था गर्ने गरी सरकारले यो नीति ल्याएको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले अहिले शिक्षा नीतिमा समग्र फ्रेमवर्क आएको र प्राज्ञिक डिग्री लिइसकेपछि कति समयको कस्तो पेसागत डिग्री लिनुपर्ने भन्ने विश्वविद्यालयबाट व्यवस्था हुने बताए । ‘अहिले शिक्षाको गुणस्तरमा प्रश्न उठेकाले बिएडबाट सीधै कक्षाकोठामा लैजान हुँदैन भन्ने बुझाइ हो, अब शिक्षणका लागि शिक्षाशास्त्र पढ्नैपर्छ भन्ने होइन,’ उनले भने । अन्य देशमा समेत शिक्षण पेसाका लागि प्राज्ञिक डिग्री लिएपछि पेसागत तालिम वा यस्ता कोर्ष गराउने व्यवस्था रहेको शर्माको भनाइ छ । नेपालमा अहिले धेरै विद्यार्थीले शिक्षाशास्त्र र व्यवस्थापन विषय अध्ययन गर्दै आएका छन् । नयाँ पत्रिकाबाट