इन्द्रेणी संवाददाता
दाङ, चैत २४ ।
सामुदायिक वन उपभोक्ता महासंघ,नेपाल जिल्ला महासंघ दाङले नयाँ संविधानमा प्राकृतिक श्रोत ब्यवस्थापन र महासंघको पुर्नसंरचनाका बिषयमा वन समूहसम्म सचेतनामूलक कार्यक्रम गर्ने भएको छ । वन महासंघ दाङको आज बुधवार सम्पन्न आठौ पूर्ण बैठकले नयाँ संविधानमा भएको ब्यवस्था र राज्य पुर्नसंरचनाका बिषयमा गाउगाउमा सचेतनामूलक कार्यक्रम गर्ने र गाउबाट प्राप्तबाट हुने सुझावका आधारमा वन महासंघको पुर्नसंरचनाकालागि केन्द्रमा सुझाव पठाउने निर्णय गरेको हो ।
नयाँ संविधानमा वन तथा वातावरणका बिषयमा धेरै ब्यवस्था गरेपनि अव बन्ने कानुनमा ती ब्यवस्था लागू गर्नकालागि खवरदारी गर्न सधै चनाखो भएर लाग्न मातहतका निकायलाई आहव गरेको बैठकपछि वन महासंघका जिल्ला सचिव एंव प्रवक्ता हेमराज शर्माले जानकारी दिनुभयो । उपभोक्ताहरुलाई वन पैदावारको सहज आपूर्तिका लागि कटान मूछान कार्य प्रक्रिया मै स्लोप नक्शा तयार गरी १९ डिग्री सम्मको भिरालो क्षेत्रमा काठ संकलन गर्न नपाउने प्रावधानलाई सच्याउनु पर्ने माग बैठकले गरेको छ ।
वन महासंघका जिल्ला अध्यक्ष शोभाकर सापकोटाको अध्यक्षता एंव वन महासंघका केन्द्रीय उपाध्याक्ष भिमप्रकाश खड्काको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य सावित्रा बिकको बिशिष्ट आतिथ्यतामा बैठक भएको थियो । जेष्ठ १८ गते सामुदायिक वन उपभोक्ता महासंघ,नेपालको २१ औ स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाउन दाङका १५ वटै इलाका महासंघहरुलाई आह्वान पनि गरेको छ ।
बैठकले नयाँ बर्ष २०७३ का अवसरमा सवैलाई शुभकामना ब्यक्त गरेको छ । बैठकका प्रमुख अतिथि वन महासंघका केन्द्रीय उपाध्याक्ष भिमप्रकाश खड्काले सामुदायिक वन समूहमा अवसरसँगै थुप्रै चुनौतीहरु रहेको भन्दै ती चुनौती सामना गर्नकालागि सवै उपभोक्ताहरुको एकता जरुरी रहेको बताउनुभयो । वन महासंघका जिल्ला उपाध्यक्ष हुमा डिसीको स्वागत मन्तब्यबाट शुरु भएको बैठकको सहजिकरण महासचिव लक्ष्मी योगीले गर्नु भएको थियो ।।