काठमाडौँ, साउन ३० गते । सगरमाथा आरोहणको यस वर्षको मुख्य सिजन समाप्त भएको तीन महिना पूरा भइसकेको छ । यद्यपि सगरमाथाको हिलारी स्टेपदेखि चुचुरोसम्म लामबद्ध आरोहीको तस्बिरले फैलाएको तरङ्गले अहिलेसम्म चर्चा भने बटुलिरहेको छ ।
सरकारले आरोहणका लागि धेरै अनुमति दिएका कारण सगरमाथामा ट्राफिक जाम भएको र त्यसले गर्दा आरोहीको मृत्यु भएको हल्ला अन्तर्राष्ट्रिय सञ्चार माध्यमले फैलाए । तर यो हल्लालाई चिर्दै सरकारले गत जेठ २४ गते गठन गरेको नेपालको पर्वतीय पर्यटन ९पर्वतारोहण० सुधार समितिले आरोहणका लागि धेरै अनुमति दिएर त्यस्तो घटना भएको नभई छिनछिनमा बदलिइरहने मौसमका कारण लाम बन्न पुगेको स्पष्ट पारेको छ ।
बुधबार सुझावसहितको प्रतिवेदन सार्वजनिक गर्दै समितिका संयोजक घनश्याम उपाध्यायले यस वर्षको सगरमाथा आरोहणका लागि दस दिनसम्म मौसम अनुकूल हुने प्रक्षेपण गरिए पनि छिनमै बदलिइरहने मौसमले आरोहणको समय आकस्मिक रूपमा परिवर्तन गर्नु परेको र छोटो समयभित्रै आरोहण हुँदा लाम बन्न पुगेको बताए । उनले सञ्चार माध्यममा भनिएजस्तो सगरमाथामा कुनै ट्राफिक जाम नभएको र त्यो केवल लाम मात्र भएको स्पष्ट पारे ।
यस वर्ष वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ३८१ जनाले अनुमति लिएकामा २८० जनाले मात्र सफल आरोहण गरेका थिए गोरखापत्रमा लेउखएको छ। तीमध्ये आठ जनाको मृत्यु भएको र एक जना हराइरहेको पर्यटन विभागको तथ्याङ्क छ । सगरमाथा आरोहणका लागि डोरी टाँग्ने कामकै क्रममा फानी नामक आँधीका कारण हिमपात भएकाले त्यो काम बारम्बार सरेर मे १४ मा मात्र पहिलो पटक आरोहण सम्भव भएको समितिको निष्कर्ष छ ।
त्यसपछि पनि लगातार चार दिन मौसम प्रतिकूल हुँदा आरोहण प्रभावित बनेको तथा मे २१ र २२ मा मौसम अनुकूल भएपछि एकै पटक आरोही सगरमाथा आरोहणमा लाग्दा लाम बनेको समितिको निष्कर्ष छ । मे २२ मा एकै दिन २२३ जनाले सगरमाथा आरोहण गरेको भए पनि त्यस दिन एक जनाको मृत्यु भएको विभागको तथ्याङ्क छ । यद्यपि लामको कारणले नभई अत्यधिक उचाइ तथा आरोही अचेत हुँदा मृत्यु हुन पुगेको संयोजक उपाध्यायले जानकारी दिए ।











