इन्द्रेणी संवाददाता
दाङ, २२ साउन । जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक प्रेम प्रसाद रेग्मीले अधिकांश सडक दुर्घटना सवारी चालकको लापरवाहीका कारण हुने गरेको बताएका छन् । आज आफ्नै कार्यकक्षमा आयोजना गरिएको सञ्चारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

IMG_20190807_085926दाङकै सडक दुर्घटनाको तथ्याङ्कलाई हेर्ने हो भने पनि गएको आर्थिक वर्षमा १ सय ८४ वटा सवारी दुर्घटनामध्ये १ सय ७० वटा चालककै लापरवाहीका कारण भएको प्रमुख रेग्मीले बताए । हालै सुर्खेतबाट सरुवा भएर दाङ आएका रेग्मीले आफू दाङको ट्राफिक व्यवस्थापनलाई सुधार गर्न र सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने काममा उद्धत रहने बताए ।

सो क्रममा सहभागी सञ्चारकर्मीहरुले दाङ मध्यपश्चिमकै बढी दुर्घटना हुने जिल्ला भएकाले यहाँको ट्राफिक व्यवस्थापन र सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सक्दो पहल गर्न सुझाव दिएका थिए । यहाँ चालकको लापरवाही, सडकको अवस्था, मापसे, ट्राफिक नियमको पालना नगर्दा र कतिपय पैदलयात्रीका कारण पनि सवारी दुर्घटना हुने गरेकाले यसमा ध्यान दिन सञ्चारकर्मीहरुको सुझाव थियो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले यहाँका सञ्चारकर्मीहरु सडक दुर्घटनालाई न्यूनिकरण गर्ने र यस सम्बन्धी सचेतना जगाउन सधै सहयोगीको भूमिका निर्वाह गर्ने गरेको बताउदै सञ्चारकर्मीहरुसँग सहकार्य गरेर अघि वढ्न ट्राफिक प्रमुख रेग्मीलाई सुझाव दिए ।