काठमाडौँ, १७ साउन । सरकारले बेरोजगारहरूलाई स्वदेशमै रोजगारी दिने उद्देश्यका साथ सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम पहिलो वर्ष प्रभावकारी भएको छ ।
यस कार्यक्रममार्फत आर्थिक वर्ष २०७५÷७६ मा एक लाख ७५ हजार ९०९ जनाले २२ लाख ६२ हजार २६९ दिनको रोजगारी प्राप्त गरेका छन् । ती रोजगार प्राप्त गरेका व्यक्तिबाट सो अवधिमा छ हजार ८६४ वटा आयोजना सम्पन्न भएका छन् ।
देशका ७५३ वटा स्थानीय तहमध्ये ५९९ तहमा सम्पन्न भएका आयोजनामा सामुदायिक भवन, सामुदायिक अस्पतालको भवन, सार्वजनिक शौचालय, खानेपानी आयोजना, सडक स्तरोन्नति, सार्वजनिक पार्क निर्माण, प्ुल मर्मत, ढल तथा नाली मर्मत लगायतका काम भएको श्रम मन्त्रालयले जनाएको छ । बाँकी स्थानीय तहको विवरण आउने क्रममा रहेको जनाइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार एक कार्यक्रम आयोजना गरी सोबारे जानकारी गराएको हो । आर्थिक तथा सामाजिक विकास गर्ने हिसाबले प्रधानमन्त्री रोजगार कार्यक्रम आएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले गएको वर्ष छोटो अवधिमा पनि यो कार्यक्रम सफल भएको जानकारी दिनुभयो ।
उनले भने, “यो वर्ष न्यूनतम ३० दिनको रोजगार दिने भनेको थियौँ तर पनि ५९९ स्थानीय तहका करिब एक लाख ७६ हजार बेरोजगार व्यक्तिले औसतमा १३ दिनको रोजगार प्राप्त गरेका छन् । कतिपय ठाउँमा ३० दिनभन्दा बढी पनि छ । यसलाई हामीले सफल रूपमा लिएका छौँ । ” गोरखापत्रबाट











