काठमाडौँ, १६ साउन । सर्लाही घटना छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने मागसहित विपक्षी दलहरूले सदन अवरुद्ध गरिरहेका बेला सभामुख कृष्णबहादुर महराले मध्यमार्गी विकल्प अगाडि सारेका छन् ।
नयाँ समिति गठनमा दलीय सहमति नभए सदनकै उक्त विषयको क्षेत्राधिकार रहेको समितिलाई विशेष निर्देशनसहित घटना अनुसन्धानको जिम्मेवारी दिने प्रस्ताव सभामुख महराको छ । दलीय सहमति भएमा छुट्टै समिति गठनको प्रक्रिया अगाडि बढाउन आफू तयार रहेको उनको भनाइ छ ।
समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षसँग निरन्तर अनौपचारिक छलफलमा रहेका सभामुख महराले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई सदनबाटै विशेष निर्देशन दिएर घटना छानबिनको प्रक्रिया अगाडि बढाउन सकिने विकल्प अघि रेका हुन् गोरखापत्रमा खबर छ । नयाँ समिति गठनमा दलीय सहमति जुट्न नसकेको विकल्पका रूपमा यस्तो प्रस्ताव आएको हो ।
बुधबार सदन अवरुद्धपछि सभामुख महराले दलीय सहमतिका लागि आफू प्रयत्नशील रहेको बताए । उनले भने, “दलीय सहमति भएमा तत्कालै समिति गठनमा म तयार छु । सहमति नभएमा राज्य व्यवस्था समितिलाई नै विशेष निर्देशनसहित घटना छानबिनको निर्देशन दिन सकिने मैले प्रस्ताव राखेको छु । बिहीबारसम्म केही न केही विषयमा सहमति हुनेमा म आशावादी छु । ”
सर्वदलीय बैठक आज
प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सभामुख महराले आज बिहीबार सर्वदलीय बैठक आह्वान गरेका छन् । सदनको गतिरोध अन्त्यका लागि समिति गठन वा अन्य विकल्पमा अघि बढ्ने विषयमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरिएको हो ।











