दाङ, १४ साउन । नागरिक समाज दाङले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र रहेको साझा औषधि विक्री केन्द्र हटाइएकोमा आपत्ती जनाएको छ ।
सोमवार वसेको बैठकले प्रतिष्ठानको हाताभित्र रहेको साझा स्वास्थ्य सेवाले २४ सै घण्टा प्रभावकारी ढंगले फार्मेसी सेवा पुर्याउँदै आएकोमा हाल साझालाई सो स्थानबाट हटाइएको सन्दर्भमा नागरिक समाज दाङको ध्यानाकर्षण भएको जनाएको हो ।
बैठकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको फार्मेसी सेवा साविककै स्थानमा यथावत रुपमा राखेर सेवाग्राहीलाई प्रभावकारी सेवा उपलब्ध गराउन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यस्तै राप्ती उपक्षेत्रीय अस्पताल दाङले सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवा भन्दा पनि प्रतिष्ठानले दिदै आएको सेवा दिनानुदिन खस्कँदै गइरहेको सेवाग्राहीबाट व्यापक जनगुनासो आइरहेकाले सेवा सुविधा गुणस्तर बनाउन आग्रह गरेको छ ।











