काठमाडौं, ११ साउन । त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर अंक थप गरिएका प्रमाणपत्र रद्द भएका छन् । अधिवक्ता सुरेन्द्रप्रसाद कोइराला र बानेश्वर क्याम्पसका केदार भट्टराईको प्रमाणपत्र त्रिविले रद्द गरेको हो ।
कानुनविपरीत अंक थप गरी ट्रान्सक्रिप्ट जारी गरेको प्रमाणित भएपछि कोइरालाको तीन र भट्टराईको एउटा ट्रान्सक्रिप्ट रद्द गरिएको त्रिभुवन विश्वविद्यालयका परीक्षानियन्त्रक पुष्पराज जोशीले बताए । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरिसकेको छ ।
कोइरालाले त्रिविको मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा त्रिचन्द्र बहुमुखी क्याम्पसमा समाजशास्त्र तथा पाटन संयुक्त क्याम्पसमा ग्रामीण विकास र अर्थशास्त्र विषयमा भर्ना भएर नम्बर थप गर्न लगाई ट्रान्सक्रिप्ट लिएका थिए आजको नयाँ पत्रिकामा खबर छ।
त्यसैगरी केदार भट्टराई पाटन संयुक्त क्याम्पसमा मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत अर्थशास्त्र विषय अध्ययनका लागि भर्ना भएर नम्बर थप गर्न लगाई प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए ।
कोइराला र भट्टराईले परीक्षा नियन्त्रण कार्यालयका कर्मचारी रामबहादुर कर्माचार्यलाई प्रलोभनमा पारी माक्र्स लेजरमा अंक थप गर्न लगाएका थिए । पनिकाले गठन गरेको छानबिन समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनले अंक थप गरेको पुष्टि भएपछि त्रिविको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियमअनुसार परीक्षा सञ्चालक समितिको बैठकले ट्रान्सक्रिप्ट रद्द गरेको हो ।











