काठमाडौं, १ साउन । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा केन्द्रीय सदस्यहरूको कार्यविभाजनमा सैद्धान्तिक सहमति भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार भएको छलफलमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’बीच केन्द्रीय सदस्यहरूको कार्यविभाजनमा सहमति जुटेको हो ।
पछिल्लो छलफलअनुसार पूर्वएमाले समूहले ३२ मध्ये १८ र पूर्वमाओवादी समूहले १४ विभाग लिने समझदारी भएको छ । त्यस्तै, ७७ जिल्लामध्ये पूर्वएमाले ६० र माओवादीले करिब ४० प्रतिशतमा इन्चार्ज लिने सहमति भएको उच्च स्रोतले जनाएको छ । भागबन्डामा परेका जिल्लाहरूमा साबिककै इन्चार्जहरूलाई सहइन्चार्ज र इन्चार्ज बनाउने समझदारी भए पनि ओली र प्रचण्डबीच व्यक्तिका नाममा भने छलफल जारी रहेको स्रोतले जनाएको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयबीच एकीकरणका बाँकी प्रक्रिया प्याकेजमै टुंग्याउने गरी छलफल भइरहेको र ५ साउनमा बस्ने सचिवालय बैठकले सबै विषयमा निर्णय गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिए नयाँ पत्रिकामा खबर छ। ‘अध्यक्षहरूको छलफलले जिल्ला इन्चार्जमा नीतिगत सहमति जुटाइसकेको छ, बाँकी विषयमा गृहकार्य जारी रहेकाले ५ साउनमा बस्ने बैठकले अन्तिम टुंगो लगाउँछ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने । सचिवालय बैठकलगत्तै स्थायी समिति र केन्द्रीय कमिटी बैठक बोलाएर पार्टी पंक्तिलाई सरकारको काम प्रभावकारी बनाउन परिचालन गर्ने नेताहरूको समझदारी छ ।











