काठमाडौंँ, ३ असार । प्रतिनिधिसभाको आजको बैठक स्थगन भएपछि कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक महत्वका विषयमा वक्तव्य आउन सकेन ।
सभामुख कृष्णबहादुर महराले आजको बैठकमा प्रधानमन्त्री ओलीलाई सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन समय दिए । बैठकको प्रारम्भमै काँग्रेस सांसदले समसामयिक विषयमा पहिला विपक्षी नेताले बोल्न पाउनुपर्ने माग गर्दै उठेर विरोध जनाए।
काँग्रसको विरोध जारी रहेकै समयमा प्रधानमन्त्री ओली वक्तव्य दिन रोष्ट्रम पुग्नुभएको थियो तर निरन्तरको विरोध र नाराबाजीपछि सभामुखले बैठक स्थगन भएको घोषणा गरे । आजको बैठकमा विनियोजन विधेयकमाथि जारी छलफलमा तीन मन्त्रालयका विभिन्न शीर्षकमा विनियोजित बजेट र कार्यक्रममाथि चार वटा खर्च कटौतीका प्रस्ताव प्रस्तुत गर्ने कायूसूची पनि प्रभावित भएको छ ।
आजको बैठकमा सांसद डिला सङ्ग्रौला, सञ्जयकुमार गौतम, सत्यनारायण शर्मा खनाल र प्रेम सुवालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका विभिन्न शीर्षकमा विनियोजित बजेटमा रु एक कायम गर्नेदेखि रु १०० सम्म घटाउनेसम्मका खर्च कटौतीका प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । रासस











