काठमाडौं, २७ जेठ । सरकारले पर्याप्त मात्रामा रासायनिक मल खरिद गर्न नसक्दा बजारमा मलको हाहाकार मच्चिएको छ । बजारमा मल नपाएपछि कृषक चिन्तित बनेका छन् । मागको अनुपातमा अत्यन्त कम मल ल्याएर कनिका छरेजस्तो छरेर मलको हाहाकार मच्चाउन सरकार स्वयं लागिपरेको किसानहरूको गुनासो छ ।

malपर्याप्त मात्रामा मलको आपूर्ति हुन नसकेपछि उपलब्ध मलमा नै लुछाचुँडी गर्न किसानहरू बाध्य हुनुपरेको छ । कृषिप्रधान देश नेपालमा धान लगाउने मुख्य समयमा नै रासायनिक मल नपाएपछि किसान नराम्ररी पिरोलिएका छन् । तर, सरकारले किसानको यो अवस्थाप्रति मूकदर्शक बन्नु र मल आपूर्तिलाई सहज बनाउनेतर्फ कुनै ठोस र प्रभावकारी प्रयाससमेत गर्न नसकेको पाइएको छ ।

खेतीको मुख्य सिजनमा प्रत्येक वर्ष नेपाली किसानले मलको अभाव झेलिरहेका छन् । सरकारले कृषि र किसानलाई मुख्य प्राथमिकतामा राखेको भने पनि यी दुवै क्षेत्र जहिले पनि राज्यद्वारा अपहेलित र उपेक्षित भएको गुनासो किसानको छ ।

राष्ट्रिय उत्पादनमा एक तिहाइ भूमिका निर्वाह गर्ने र दुई तिहाइ जनताको जीविकोपार्जनको मुख्य पेसा रहेको कृषि क्षेत्रलाई सबल र सक्षम बनाउने बेलामा खेतमा मल हाल्न नपाएपछि खेतबारीमा काम छोडेर विभिन्न जिल्लामा किसान आन्दोलित भएका छन् राजधानीमा खबर छ। पहाडका कति जिल्लामा धान रोपाइँ सुरु भइसकेको छ । भने तराई जिल्लामा असार पहिलो सातादेखि धान रोपाइँ गर्ने तयारीमा छन् । तर, किसानले खेतमा राख्ने मलको अभावबाट पीडित भएका छन् ।

मुलुकमा कृषिका लागि ५६ लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता पर्ने कृषि तथा सहकारी मन्त्रालयको अनुमान छ । तर गैरसरकारी संघसंस्थाले गरेको अनुमान र उत्पादनशील जमिनलाई विश्लेषण गरेर हेर्ने हो भन्ने मुलुकमा करिब ८९ लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता पर्छ ।

सरकारी तथ्यांकलाई नै आधार मान्ने हो भने ५६ लाख मेट्रिक टन मल आपूर्ति गर्नुपर्ने ठाउँमा सरकारले त्यसको एक चौथाइ अर्थात् झन्डै १ लाख २० हजार मेट्रिक टन मल मात्र ल्याउने जनाएको छ । धानबालीका लागि तत्काल करिब १ लाख १० हजार टन युरिया र ६० हजार टन डीएपीको माग छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार सरकारसँग जम्मा हाल मौज्दात रासायनिक मल २१ हजार मेट्रिकन टन छ । जसमा युरिया ९ हजार र डीएपी १२ हजार मेट्रिक टन छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाका वरिष्ठ अधिकृत नेत्र भण्डारीले गत वर्षको आधारमा तुलना गर्दा यस वर्ष धानबालीका लागि ५० हजार मेट्रिक टन मलको अभाव देखिएको बताए । अर्थ मन्त्रालयलाई माग गरेको ३ अर्ब बजेट समयमा निकासा नहुँदा मल खरिदमा ढिलाइ भएको उनले बताए ।

उनले कृषि सामग्री कम्पनीमार्फत ५५ हजार युरिया र २० हजार डीएपी तथा साल्ट ट्रेडिङमार्फत ७५ हजार मेट्रिक टन युरिया र ४० हजार मेट्रिक टन डीएपी खरिद गर्न ग्लोबल टेन्डर गरेको र त्यो मल आउने क्रममा रहेकोे बताए । टेन्डर गरेकामध्ये कृषि सामग्रीले ७ हजार टन युरिया मल भिœयाएको छ भने बाँकी २२ हजार मेट्रिक टन युरिया मल केही दिनभित्र आइपुग्ने उनले बताए । त्यस्तै, साल्ट टे«डिङले पनि २० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल आगामी असारको पहिलो हप्तासम्म आइपुग्ने जनाएको उनले बताए ।