नयाँ दिल्ली, १७ जेठ । प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ ७ बजे दोस्रोपटक प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

moddi६८ वर्षीय मोदीले राष्ट्रपति रामनाथ कोबिन्दबाट राजधानी नयाँदिल्लीस्थित राष्ट्रपति भवनको प्रांगणमा आयोजित एक भव्य समारोहमा १५औँ प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथग्रहण समारोहमा शीर्ष नेता, विदेशी अतिथिलगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए ।

शपथ लिनुअघि मोदीले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पगुच्छा अर्पण गरेका थिए । त्यसलगत्तै मोदीले पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको समाधिस्थल पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको नेसनल डेमोक्र्याटिक एलायन्स (एनडिए) हालै सम्पन्न निर्वाचनमा ३५२ सिट ल्याएर अत्यधिक बहुमतले विजयी भएको थियो भने भाजपा एक्लैले ३०३ सिट ल्याएको थियो ।

५८ सदस्यीय मन्त्रिपरिषद्
प्रधानमन्त्री मोदीले ५८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रिपरिषद्मा २५ क्याबिनेटमन्त्रीसहित २४ जना राज्यमन्त्री र नौजना स्वतन्त्र प्रभार छन् । मन्त्रिपरिषद्का सदस्यमध्ये १९ जना नयाँ अनुहार छन् । नवनियुक्त मन्त्रीहरूलाई मोदीले बिहीबारै पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

शपथ खुवाउनुअघि नयाँ मन्त्रीहरूलाई मोदीनिवासमा आयोजित चियापान समारोहमा बोलाइएको थियो । नयाँ मन्त्रिपरिषद्मा मन्त्रीहरूको सूची तय हुनुअघि प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष अमित साहबीच विभिन्न चरणमा वार्ता भएको थियो । एनडिए गठबन्धनको घटक जेडियू भने सरकारमा सहभागी छैन । नयाँ पत्रिकाबाट