रोल्पा, २४ वैशाख । पर्यटन गन्तव्य शुभारम्भसँगै रोल्पाको जलजलामा पर्यटकको चासो बढ्न थालेको छ । धार्मिक, युद्ध र पर्या–पर्यटनको राम्रो सम्भावना बोकेको उक्त स्थानमा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको हो ।
बिदाका दिन जलजला घुम्न जानेको सङ्ख्यामा आएको वृद्धिसँगै यसको प्रचारप्रसारले समेत व्यापकता पाइरहेको छ । जलजलामा बढेको आन्तरिक पर्यटकको चहलपहलले होटल व्यावसायमा सकारात्मक प्रभाव देखिन थालेको रोल्पा उद्योग वाणिज्य सङ्घ सदस्य सागर डाँगीले बताए ।
बिदाको समय आफू पनि जलजला जाने गरेको डाँगीको भनाइ छ । ‘‘जलजलामा रहेको पर्यटकीय सम्भावनालाई प्रचारप्रसार गर्नसके बाह्य पर्यटक समेत तान्न सकिन्छ’’, डाँगीले भन्नुभयो । सेतो, रातो, गुलावी र सेतो गुलाबी मिश्रित रङ्गमा फुल्ने लालीगुराँसको सौन्दर्यताले पर्यटकलाई लोभ्याउने गर्दछन् । डाँफे, मुनाल, कालीज जस्ता पक्षी र विश्वको दुर्लभ वन्यजन्तु रेडपण्डा ९रातो हाब्रे० समेत सो स्थानमा देख्न सकिन्छ ।
घोरल, मृग, बँदेल, भालु जस्ता जङ्गली जनावरसमेत अवलोकन गर्न सकिने यस ठाउँ निकै मनमोहक छ । भामा गुफा अवलोकन गर्न लायक अर्को स्थान हो । जलजलालाई परिवर्तनको प्रतीक मान्दै दश वर्ष लामो सशस्त्र युद्ध सञ्चालन भएको थियो । सशस्त्र युद्धमा मारिएकाको स्मरणमा जलजलाको धरमपानीमा स्मारक बनाइएको छ । युद्ध पर्यटन प्रवद्र्धनका लागि भन्दै ‘गोरिल्ला टे«ल’को रुपमा समेत सो स्थानलाई विकास गर्न खोजिएको छ ।
युद्धकालदेखि नै सो स्थानको संरक्षण गरिँदै आएकामा हालै सरकारले समेत सो क्षेत्रलाई संरक्षण क्षेत्रको रुपमा विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । वैशाख, आसार र श्रावण पूर्णिमाका दिन बराहको पूजा गर्ने गरिन्छ । बाह्रभाइ बराहमध्ये कैलु बराहको यहाँ पूजा गरिन्छ ।
बाह्रबहिनी बजुहरुको समेत सो स्थानमा पूजा गर्ने चलन छ । रुकुम, दाड, सल्यान, प्यूठान, बाँके, बागलुङलगायत देशका विभिन्न स्थान र भारतबाटसमेत यहाँ पूजा गर्न आउने गर्दछन् गोरखापत्रमा खबर छ। सो मन्दिरमा दया रोका मगरले मूल पूजारीको काम गर्दै आएका छन् ।
मूल र सहायक पूजारी सबै मगर जातिका रहेको सो मन्दिरमा भेँडाको बलि दिने चलन छ । सन्तान नहुनेले भाकल गरे सन्तान प्राप्त हुने जनविश्वास छ । छोराछोरी नभएकाले भाकल गर्न यहाँ आउने गर्दछन् । हालै टे«कको रुपमा काठमाडौँबाट आएका ३३ जनाको समूहले जलजलाको यात्रा गरेर फर्किएको छ ।
प्रचारप्रसारको लागि सो समूहले जलजला यात्रा गरेको थियो । रोल्पा नगरपालिका–१० धवाङको पेवासम्म गाडीमा यात्रा गरेको सो टोली त्यहाँबाट ६ घण्टाको पैदलयात्रापछि जलजला पुगेको थियो ।











