भूपेन्द्र वली
दाङ, १८ बैशाख । पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको दाङको राजपुर गाउँपालिकामा दादुरा संक्रमित बढेका छन् । एक महिनायता राजपुर गाउँपालिका–४ मा ५० भन्दा बढी बालबालिकामा दादुराको संक्रमण पाइएको हो । १३–१४ वर्ष उमेर पुगेका बालबालिका बढी संक्रमित छन् । दाङलाई २३ पुस २०७४ पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो ।

daduraaaगाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल रोकाले सुरुमा एकजना ल्याब असिस्टेन्टकी छोरीलाई दादुरा देखिएको र त्यसपछि संक्रमित बालबालिकाको संख्या बढ्दै गएको बताए । ‘एक महिनाअघि दादुराका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठनका चिकित्सक डा.पवनकुमार उपाध्यायको टोली राजपुर पुगेर सुरुमा आठजनाको नमुना संकलन गरी जाँचमा पठाएको थियो ।

उनीहरू सबैमा दादुरा पोजेटिभ देखियो,’ उनले भने । अहिलेको वडा नम्बर ४ लाई पनि साविकका गाविस हुँदा पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको थियो । खोप लगाउन खटिएका स्वास्थ्यकर्मीले लापरवाही गर्दा अहिले पुनः दादुराको संक्रमण देखिएको हो ।

खोप नलगाएका बालबालिकामा संक्रमण
संक्रमितमध्ये अधिकांशले दादुराविरुद्धको खोप नलगाएको पाइएको छ । अहिले स्वास्थ्य संस्थामा उपचारका लागि बिरामी आउने क्रम बढेको छ । राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले पटक–पटक गाउँपालिकामा दादुराविरुद्ध खोप लगाउने अभियान सञ्चालन भए पनि बालबालिकालाई खोप नलगाउँदा यस्तो समस्या निम्तिएको बताए । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख केशवराज पण्डितले विगतमा सही सूचना उपलब्ध नगराउँदा अहिले समस्या उत्पन्न भएको बताए ।

विशेषज्ञ चिकित्सकको टोली संक्रमित क्षेत्रमा
दादुराको प्रकोप देखिएपछि केन्द्र तथा जिल्लास्तरका विशेषज्ञ चिकित्सकको टोली प्रकोप क्षेत्रमा पुगेको छ । विश्व स्वास्थ्य संगठनबाट डा।पवन उपाध्याय, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका खोप अधिकृत डा।भरत भण्डारी, जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख केशवराज पण्डित, युनिसेफ भैरहवाका शिव सुवेदीलगायतको टोली प्रभावित क्षेत्रमा पुगको हो ।

बालबालिकालाई खोप लगाइँदै
एक महिनाअघिदेखि फैलिएको दादुरा न्यूनीकरण नभएपछि शनिबार विशेषज्ञ डाक्टर, गाउँपालिकाका अध्यक्ष लोकराज केसीलगायत सरोकारवालाको छलफलपछि संक्रमित क्षेत्रमा दादुराविरुद्ध खोप लगाउनेसमेत निर्णय भएको छ ।

गाउँपालिका अध्यक्ष लोकराज केसीका अनुसार १६, १७ र १८ वैशाखमा वडा न. ३, ४ र ५ का विभिन्न वडामा बालबालिकालाई खोप लगाउने कार्यक्रम तय गरेको हो । वडा नम्बर ४ मा संक्रमण फैलिएको भए पनि नजिकका बस्तीमा फैलन सक्ने भन्दै वडा नम्बर ३ र ५ मा दादुराविरुद्धको खोप लगाउने कार्यक्रम छ । तत्काल रोग नियन्त्रणका लागि सो वडामा पाँच वर्षदेखि १५ वर्षसम्मका रोग देखिएका स्थानका बालबालिकामा दादुरा खोप लगाइने अध्यक्ष केसीले बताए । नयाँ पत्रिकाबाट