संघीय संसदका सभामुख कृष्णबहादुर महराले १३० औं मजदुर दिवसको शुभकामना दिएका छन ।

शुभकामनाको पुर्ण पाठ

सर्वप्रथम १३० औं अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली श्रमजीवी दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् सम्पूर्ण श्रमिक वर्गको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

श्रमिक वर्गको हक, अधिकार प्राप्तिको लागि गरिएको ऐतिहासिक संघर्षलाई संस्थागत गरिएको आजको दिनलाई संसारभर अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मजदूर दिवसका रुपमा मनाउने गरिएको छ । आजको दिनले श्रमिक वर्गलाई पेशागत हकहित र अधिकारका लागि संगठित हुने, संघर्ष गर्ने र एकताबद्ध भएर अघि बढ्ने प्रेरणा प्रदान गरिरहेको छ ।

हाम्रो संविधानले प्रत्येक श्रमिकलाई श्रमअनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको छ । संविधानको मर्मअनुसार संघीय संसदमा अहिले केही श्रमसम्बन्धी ऐन कानूनहरु निर्माणका क्रममा रहेको अवस्था छ । श्रमिक वर्गको पक्षमा ऐन कानूनहरु निर्माण गर्नुका साथै संविधानप्रदत्त हक कार्यान्वयन भएमा मात्रै साँचो अर्थमा मजदूरहरुले अधिकार प्राप्त गर्नेछन् भन्ने मैले विश्वास लिएको छु ।

हामीले श्रमिक दिवस मनाइरहँदा अहिले पनि लाखौं नेपाली श्रमिकहरु न्यून पारिश्रमिकमा विदेशमा श्रम बेच्न बाध्य भइरहेको तीतो यथार्थ हाम्रा सामू रहेको छ । श्रमिक वर्गको हितका लागि स्वदेशमै प्रशस्त रोजगारीको सिर्जना गरी उनीहरुलाई आफ्नै देशमा श्रम गर्ने वातावरण तयार गर्न र श्रमिकहरुलाई दक्ष, व्यावसायिक एवं सबल बनाउनतर्फ राज्यले ढिलाइ गर्नुहुँदैन । त्यसका लागि आवश्यक नीतिगत व्यवस्था तथा व्यवहारिक रुपमा कार्यान्वयनको पक्षलाई कठाइका साथ अघि बढाउन जरुरी छ ।

फेरि पनि १३० औं अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा सम्पूर्ण मजदूर तथा श्रमजीवी वर्गलाई एकताबद्ध भई अघि बढ्ने प्रेरणा प्राप्त होस्, हार्दिक शुभकामना व्यक्त गर्दछु ।