काठमाडौँ, १३ वैशाख । सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग लाभकर असुल गर्ने प्रक्रिया तत्काल यथास्थितिमा राख्न ठूला करदाता कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

2015061616-point-deal-challenged-in-supreme-court-600x0अल्पकालीन आदेशसँगै एनसेलसँग कर असुल गर्ने प्रक्रिया स्थगन भएको छ । ठूला करदाता कार्यालयले वैशाख ३ गते एक साताको समय दिएर ३९ अर्ब ६ करोड ६ लाख रुपियाँ कर तिर्न एनसेललाई पत्राचार गरेको थियो ।

कर निर्धारण प्रक्रियाविरुद्ध एनसेलले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले तत्काल कर निर्धारण अनुसारको असुल प्रक्रिया अगाडि नबढाउन आदेश जारी गरेको हो गोरखापत्रमा खबर छ। श्रेष्ठको एकल इजलासले वैशाख २३ गते दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ । उक्त समयसम्म अब कर निर्धारणपछिको कुनै प्रक्रिया अगाडि बढ्ने छैन ।

सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले तत्काललाई निर्णय यथास्थितिमा राख्ने आदेश भएको बताउनुभयो । लिखित आदेश भने तयार भइसकेको छैन । अदालतको आदेश अनुसार अब दुवै पक्षको छलफलमा हाल जारी भएको अल्पकालीन आदेशले निरन्तरता पाउने वा नपाउनेबारे छलफल हुनेछ ।

दुवै पक्षको छलफलमा अदालतले हाल जारी गरेको अल्पकालीन आदेशलाई निरन्तरता दिएमा कर असुल प्रक्रिया निवेदनको अन्तिम टुङ्गो नलागेसम्म रोकिनेछ । अल्पकालीन आदेश खारेज भएमा कर असुलीको प्रक्रिया अगाडि बढ्नेछ । तर, वैशाख २३ सम्म भने ठूला करदाता कार्यालयले कुनै पनि प्रक्रिया अगाडि बढाउन पाउने छैन ।

खरिदबिक्रीको लाभकर कसले तिर्ने भन्ने विवादबीच सर्वोच्चको वृहत् पूर्ण इजलासले माघ २३ गते एनसेल–एक्जियटाबाट कर असुल गर्न आदेश दिएको थियो । आदेशको पूर्णपाठ सर्वोच्चले चैत २६ गते सार्वजनिक गरेको थियो । पूर्णपाठ अनुसार ठूला करदाता कार्यालयले कर निर्धारण गरी वैशाख ३ गते एनसेललाई जानकारी पठाएको थियो ।

कार्यालयले कुल ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपियाँ कर निर्धारण गरेको थियो । जसमा अदालतको आदेश अनुसार त्यसअघि तिरिसकेको २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपियाँ घटाएको थियो । कार्यालयले ३९ अर्ब छ करोड छ लाख ८४ हजार ८१५ रुपियाँ एक साताभित्र तिर्न एनसेललाई पत्राचार गरेको थियो ।