रितु खनाल
दिनदिन सँग बस्दा प्यार गर्नै लजायौ
अब दिन मुख फोरी बोल्न थाली हँसायौ
प्रणय पल बनाई आज बाटै पराग
निशदिन छु तयारी भन्छ पाएर राग ।
कति दिन सब साँचौँ आज सौन्दर्य चाखौँ
अब नवरस छर्दै लाज बाँकी नराखौँ
शशिवदन भएकी केतकी रुप माला
तन नयन लजाई छोड प्रेमाङ्क भाला ।
महकमन भएमा सार संसार चित्र
महक स्वर निकाली गुन्गुनाऊ बिचित्र
हरहर पसिनाले भिज्न थालेछ सास
पथ पनि नजिकैमा खोज्छ तिम्रो सुवास ।
फरक सुख मिलेको रात सारेर टार
चहकपन समेटी राख राम्रा बिचार
मदनरस पिए झैँ भोगले टन्न आँखा
तन वदन फिजाई बन्न थाले चनाखा ।
तनसँगतन जोडी पाइने छैन पक्का
किन किन मन बास्ना खोज्छ पारेर छक्का
लुकिकन अझ छुट्टै खेल खेल्ने इरादा
नवरस कवितामा मालिनी बोल्छ गाढा ।
@रितु ✍️✍️











