दाङ, ४ चैत । दाङमा एक महिला समूहले नुमनाकै रुपमा व्यवसायिक लसुन खेती गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १६ स्थित मघैमा स्थानीय कोपिला महिला समूहले १५ विगाह क्षेत्रफलमा व्यवसायिक रुपमा प्याज तथा लसुन खेती गरेको हो ।
समूहको ९ लाख ९७ हजार ९९ रुपैयाँ र साना तथा सझौला कृषक आयस्तर बृद्धि परियोजनाको ११ लाख ५५ हजार ५ सयको लगानीमा व्यवसायीक प्याज तथा लसुन खेती गरिएको समूहकी अध्यक्ष कैलाशी चौधरीले बताइन् । समूहमा टोलका २२ जना महिलाहरु आवद्ध छन् ।
यसअघि गरिएको च्याउ खेतीबाट राम्रो आम्दानी भएपछि लसुन खेतीमा लागेको समुहका कोषाध्यक्ष जानकी चौधरीले बताउनुभयो । एक्ला एक्लै काम गर्दा व्यावसयिक रुपमा जान समस्या हुने, रकम तथा समय समेत बढी खर्च हुने भएकाले सामुहिक रुपमा यो व्यावसायमा लागेको उनको भनाइ छ ।
यसैविच कोपिला कृषक समुहको आयोजना तथा साना तथा मझौला कृषक आयस्तरबृद्धि आयोजनाको सहयोमा दोश्रो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । समुहका अध्यक्ष कैलाशी चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्वर १६ का कार्यवाहक अध्यक्ष जग प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।











