काठमाडौँ, ८ फागुन । संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम अन्सारीको नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा थप छानबिन गर्ने भएको छ ।
समितिको मङ्गलबारको बैठकले प्रस्तावित अध्यक्ष अन्सारीको नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्र विवादित रहेको भन्दै सम्बन्धित निकायबाट थप विवरण माग गर्ने निधो गरेको हो । उजुरीका सम्बन्धमा थप निक्र्यौलपछि मात्र अन्सारीको सुनुवाइ प्रक्रिया अघि बढ्नेछ ।
सुनुवाइ समिति सभापति लक्ष्मणलाल कर्णले अन्सारीका सम्बन्धमा थप कागजात माग गरिएको बताउनुभयो ।
कर्णले भने, ‘‘प्रस्तावित अध्यक्षबारेको उजुरीमा थप कागजात मगाएर अध्ययन गर्ने निर्णय भएको छ । नागरिकता, पार्टी सदस्यता, शैक्षिक योग्यताको प्रमाणपत्रबारे थप कागजात माग गर्ने निर्णय भएको छ ।’’
समितिले अन्सारीको सम्पूर्ण विवरण खुल्ने नागरिकता विवरण माग गर्ने निर्णय समेत गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट थप विवरण माग गर्ने समितिले निर्णय गरेको हो गोरखापत्रमा खबर छ। समितिमा प्राप्त उजुरी अनुसार अन्सारीले २०५५ सालमा नागरिकता लिनुभएको थियो । उजुरीकर्ताले उहाँले पुनः प्रतिलिपि लिनुभएको दाबी गरे ।











