प्रतीक इच्छुक शर्मा
सल्यान, ६ फागुन । सल्यानको टिमुर फ्रान्स निर्यात हुने गरेको छ । गत वर्ष मात्रै सल्यानबाट करिब ४० करोड रुपियाँको टिमुर निकासी भएको छ ।
गत आर्थिक वर्ष २०७४÷७५ मा सल्यानबाट ४० करोड रुपियाँभन्दा बढीको टिमुर निर्यात भएको डिभिजन वन अधिकृत थिरबहादुर कार्कीले जानकारी दिए । उनले भने, यो वर्ष पनि टिमुर निर्यात हुने क्रम जारी छ तर कृषकले बढी मूल्य पाउने आशमा अझै बिक्री गरेका छैनन् ।
यस वर्ष कुपिन्डे, निगाल चुला, माँझकाडालगायतका क्षेत्रबाट मात्रै पाँच करोड रुपियाँभन्दा बढीको टिमुर निकासी भएको उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका टिमुरविज्ञ गिरिधर अमात्यले जानकारी दिए । उनले भने, हिमालयन बायोट्रेड लिमिटेडको सहजीकरणमा फ्रान्सको मनिफिल्स कम्पनीले टिमुर लिइरहेको छ ।
राम्रो मूल्य पाएपछि कृषकले बारीका डिल, कान्लामा र सामुदायिक वनका उपभोक्ता व्यावसायिक टिमुर खेती गर्न थालेका छन् ।
आयोजनाले किसानलाई टिमुर टिप्ने पञ्जालगायत विभिन्न उपकरण सहयोग गर्दै आएको छ । सल्यानका अधिकांश गाउँमा पाइने टिमुर छ लाख किलो सल्यानबाहिर जाने गरेको छ । टिमुर मसला र विभिन्न औषधिका लागि प्रयोग गरिने वनस्पति कार्यालय सल्यानका टिमुर विशेषज्ञ कृष्ण बुढामगरले बताए ।
सल्यानमा टिमुरको तेल पनि निकाल्न थालिएको छ । सल्यानको शारदा नगरपालिका १५ मा रहेको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरबाट तेल उत्पादन गर्दै आएको हो । उक्त उद्योगले गत वर्षदेखि नै तेल उत्पादन गर्न थालेको हो । पहिलो वर्ष छ सय किलो टिमुरको तेल उत्पादन गरेकोमा यस वर्ष एक हजार पाँच सय किलोग्राम तेल उत्पादन गर्ने गरी काम भइरहेको उद्योग सञ्चालक हरि न्यौपानले जानकारी दिए ।
टिमुरको तेल प्रतिकिलो १७ हजार रुपियाँमा बिक्री हँुदै आएको छ । यहाँ उत्पादन भएको टिमुरको तेल नेपालगञ्ज, काठमाडौँमा जाने गरेको छ । उद्योगमा छ जनाले रोजगारी पाएका छन् ।
टिमुर उद्योग स्थापना गर्न ९० लाख रुपियाँ लगानी भएको छ । उद्योग सञ्चालनका लागि जिल्ला वन कार्यालयले २५ लाख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना दस लाख ६५ हजार र घरेलु तथा साना उद्योग कार्यालयले एक लाख रुपियाँ सहयोग गरेको र बाँकी लगानी आफूहरूले गरेको सञ्चालक न्यौपानेले बताए ।











