तुलसीपुर, २२ माघ । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले हात्तीपाइले विरुद्धको औषधि स्वास्थ्यकर्मीबाट खुवाउने भएको छ ।

hatipaileऔषधि सेवनका वारेमा अझै पनि केहीमा भ्रम रहेकाले त्यसलाई मेट्नका लागि स्वास्थ्यकर्मी परिचालन गर्न लागिएका स्वास्थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहालले वताए । डा. दाहालका अनुसार फागुन १५ देखि १८ सम्म ४ दिनका लागि १ सय स्वास्थ्यकर्मीहरु परिचालन गरेर औषधि खुवाइनेछ ।

गतवर्ष ७० प्रतिशतले हात्तिपाईले रोगविरुद्धको औषधि खाएको भन्दै अहिले त्यसलाई वढाउने लक्ष्य लिएको पनि स्वास्थ्य शाखाले जनाएको छ । हात्तिपाईले विरुद्धको औषधि २ वर्षभन्दा साना वालवालिका र गम्भिर रोगका विरामीहरु बाहेक सबैले खान मिल्ने पनि स्वास्थ्य शाखा प्रमुख डा. दाहालले जानकारी दिए । औषधि खुवाईदा कुनै पनि खराव असर नहोस् भन्नका लागि स्वास्थ्यकर्मीका लागि ४ दिने तालिमको आयोजना गरिएको समेत जनाइएको छ ।

हात्तीपाइले रोगलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने सम्वन्धि आयोजना गरिएको तयारी कार्यक्रममा वोल्दै नगरप्रमुख घनश्याम पाण्डेले जनतामा सचेतना प्रदान गरेर सबैलाई हात्तीपाईले रोग विरुद्धको औषधि खुवाउनुपर्ने कुरा वताए ।

नगर प्रमुख पाण्डेले जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, सामाजिक कार्यकर्ता, पत्रकार सबैलाई परिचालन गरेर शतप्रतिशत औषधि खुवाउनुपर्ने कुरामा जोड दिए । नगरप्रमुख पाण्डेले औषधि खाने सम्वन्धमा गलत हल्ला फैलिएको भन्दै त्यसलाई निरुत्साहित पार्नका लागि सबैले ध्यान दिनुपर्ने वताए ।