नेपालगन्ज, २१ माघ। बाँकेमा व्यावसायिक रूपमा जटीबुटी खेती हुन थालेको छ । सरकारले प्राथमिकतामा राखेकामध्ये १२ प्रजातिका जडीबुटीलाई अहिले व्यावसायिक खेतीका लागि सिफारिस गरिएको छ ।
नेपालको आर्थिक विकासका लागि ३० प्रजातिका जडीबुटीलाई सरकारले प्राथमिकतामा राखेको छ । प्राथमिकतामा राखिएकामध्ये १२ प्रजातिका जडीबुटीलाई प्रविधि विकासको माध्यमबाट व्यावसायिक खेतीका लागि सिफारिस गरिएको वनस्पति उद्यान केन्द्र, बाँकेका प्रमुख सुनिलकुमार आचार्यले बताए ।
बाँकेमा जडीबुटी खेतीका लागि प्रस्तावित क्षेत्र तोकिएको छ । खेतीका लागि तोकिएका क्षेत्रको आसपास पाइने रैथाने प्रजातिको जडीबुटीलाई प्राथमिकतामा राख्नुपर्ने मापदण्ड पनि तोकिएको राजधानीमा खबर छ। ‘जडीबुटीको बाह्य प्रजाति पनि हुर्काउन त सकिन्छ तर यसले रैथाने प्रजातिका जडीबुटीको उत्पादकत्व घटाउन सक्छ । खेतीका लागि बाह्य तथा नयाँ प्रजाति छनोट गर्दा वैज्ञानिक प्रविधिबाट विस्तृत अध्ययन गर्नुपर्छ,’ केन्द्र प्रमुख आचार्यले भने ।
बाँकेमा वन क्षेत्र बढी भएकाले व्यावसायिक जडीबुटी खेतीको प्रशस्त सम्भावना छ । जडीबुटीमा संलग्न हुन चाहने कृषकले स्पष्ट रूपमा व्यावसायिक योजना बनाउनुपर्छ ।
उत्पादित जडीबुटी लामो समय भण्डारण र प्रयोग गर्न नसकिने भएकाले बजारको मागअनुसार उत्पादन गर्नुपर्ने केन्द्र प्रमुख आचार्यको सुझाव छ । बाँकेमा हाल कुरिलो, अमला, मेन्थालगायत प्रजातिका जडीबुटीको खेती बढी हुने गरेको छ ।











