कञ्चनपुर, २१ माघ । भारतले कञ्चनपुरको सीमा क्षेत्रमा फेरि डोजर लगाएर नाली खन्ने काम सुरु गरेको छ । भारतीय वन विभागले शनिबारदेखि पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित ७५३/१७१ नम्बर पिलर क्षेत्रमा नाली बनाउन थालेको हो ।

dojarभारतले १० दिनअघि डोकेबजार क्षेत्रमा नाली खन्न थालेको थियो । त्यतिखेर नेपाली प्रशासनको पहलमा रोकेको काम अहिले फेरि सुरु गरेको हो नयाँ पत्रिकामा खबर छ। स्थानीय दीपक तिमल्सिनाले भारतीय प्रहरीको सुरक्षाबीच डोजर लगाएर धमाधम नाली खन्ने काम भइरहेको बताए ।

सीमाक्षेत्रमा नाली खनेको विषयमा एक हप्ताअघि भारतको गौरीफन्टामा नेपाल र भारतका प्रशासनिक र सुरक्षा अधिकारीबीच छलफल भएको थियो । त्यहाँ दुई देशको माथिल्लो तहको छलफलबाट निष्कर्षमा पुग्ने सहमति भएको थियो ।

पुनर्वास नगरपालिकाका प्रवक्ता भारमत सुनारले भारतीयपक्षबाट भइरहेको एकलौटी काम रोक्नका लागि पहल भइरहेको बताए । सीमाक्षेत्रमा संरचना बनाउँदा द्विपक्षीय सहमति आवश्यक भएपनि भारतले दशगजामा बल मिच्याइँ गरिरहेको उनले बताए ।

दुई बर्षअघि भारतीयपक्षले पुनर्वासमै कल्र्भट बनाउँदा भएको विवादमा भारतीयपक्षले चलाएको गोली लागेर नेपाली नागरिक गोविन्द गौतमको ज्यान गएको थियो ।