काठमाडौँ, ५ माघ । निर्मला पन्तको बलात्कार र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने मुख्य प्रमाण भनिएको डीएनए परीक्षणको प्रक्रिया नै त्रुटिपूर्ण भएको आशंका गरिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको टोलीले तयार पारेर गत आइतबार बुझाएको प्रतिवेदनले प्रहरीको विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणको वैधतामाथि नै प्रश्न उठाएको हो । प्रतिवेदनले उक्त प्रयोगशालाबाट हाल निकालिएको नतिजाका आधारमा मात्रै अपराधी किटान सम्भव नहुने तर्कसमेत गरेको छ आजको कान्तिपुरमा खबर छ।
पूर्वएआईजी विज्ञानराज शर्मा, फरेन्सिक विशेषज्ञ हरिहर वस्ती, डीएनए विज्ञ दिनेश झा, पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठक सम्मिलित टोलीले प्रतिवेदन तयार पारेको हो । विशेष स्रोतबाट कान्तिपुरलाई प्राप्त प्रतिवेदनमा निर्मलाको भेजाइनल स्वाब ९योनीभित्र हुने र्यालजस्तो तत्त्व० बाट लिइएको परीक्षणमा त्रुटि हुन सक्ने निष्कर्ष निकालेको हो ।
डीएनए नमुनाबाट अटोसोमल एसटीआर ९महिला र पुरुष सबैमा पाइने क्रोमोजम० र वाई एसटीआर ९पुरुषमा मात्र पाइने क्रोमोजम० दुवै निकाल्नुपर्नेमा प्रयोगशालाले वाई एसटीआर मात्रै निकालेको प्रतिवेदनमा उल्लेख छ । जबकि प्रहरीको विधि विज्ञान प्रयोगशालामा अटोसोमल एसटीआर निकाल्ने उपकरण छन् । अटोसोमल एसटीआरले व्यक्ति किटान गर्छ भने वाई एसटीआरले पुरुषहरूको समूह किटान गर्छ ।
प्रतिवेदनमा भनिएको छ, ‘एउटा मिश्रित नमुनामा विशेष प्रक्रियाद्वारा शुक्रकिट अलग्याई सोको डीएनए परीक्षण उपयुक्त हुन्छ । विश्वव्यापी रूपमा यो प्रक्रिया अपनाउने गरिन्छ । यसबाट अपराधीको आवश्यक डीएनए प्रोफाइल प्राप्त हुने भए निजको पहिचान सम्भव हुन्छ । यस केसमा उक्त प्रक्रिया नअपनाएका कारण महिला र पुरुषको डीएनए मिश्रण हुन गएको छ । फलस्वरूप पुरुषको वाई एसटीआर परीक्षण मात्र सम्भव भएको छ ।’











