इन्द्रेणी संवाददाता
दाङ, ४ माघ । नेपाल पत्रकार महासंघ दाङले महासंघका सदस्य सागर थापा र पत्रकार विष्णु देवकोटाले पत्रकार महासंघको विधान र पत्रकारिताको आचारसहिंता विपरित काम गरेको ठहर गरेको छ । थापा र देवकोटाले प्रहरीसँग पैसा मागेको आरोप लागेपछि सत्यतथ्य छानविनका लागि समिति गठन गरेको महासंघले थापा र देवकोटाले महासंघको विधान र आचारसंहिता वितरित कार्य गरेको निष्कर्ष निकालेको हो ।

fnj dangमहासंघ दाङ शाखाको १० औं कार्यसमिति शाखाका पुर्वअध्यक्ष, शाखाका सल्लाहकार, पत्रकारिता क्षेत्रमा क्रियाशिल संघसंगठन सम्मिलित शुक्रवार वसेको बैठकले थापा र देवकोटालाई कारवाही समेत गर्ने निर्णय गरेको छ । शाखा अध्यक्ष सबिन प्रियासनको अध्यक्षता एवं शाखाका संस्थापक अध्यक्ष बरिष्ठ पत्रकार एवं प्रेसकाउन्सिलका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माको विशेष उपस्थितिमा वसको बैठकले कारवाहीका लागि निम्न निर्णय गरेको हो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाद्धारा २०७५ पौष २६ गते गठित छानबिन समितिले अध्ययन अनुसन्धान गरी तयार पारेको प्रतिवेदनमा पत्रकार महासंघको विधान र आचारसंहिता विपरित महासंघका साधारण सदस्य सागर थापाले काम गरेको स्पष्ट आधार प्रस्तुत भएकाले थापाको सदस्यता खारेजीका लागि केन्द्रिय समितिमा सिफारिश गर्ने र सैघालीखबर डक कममा कार्यरत विष्णुकुमार देवकोटाले पत्रकार आचारसंहिता विपरित काम गरेको निष्कर्ष प्रतिवेदनमा उल्लेख भएकाले निजलाई हाल पत्रकार महासंघको साधारण सदस्यता प्राप्तीको प्रक्रियामा समावेश नगर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले पत्रकार आचारसंहिता विपरित विभिन्न गतिविधि भईरहेको भन्ने जनगुनासो आइरहेकोले जिल्लाका आम सञ्चारकर्मी र सञ्चारमाध्यमालाई त्यस्ता गतिविधि नगर्न सचेत गराउने र आचारसंहिता विपरित भईरहेका गतिविधि बारे सजग हुँदै यस्ता कुरा महासंघलाई जानकारी गराउन आह्वाहन गर्ने र महासंघको सदस्य रहेपनी पत्रकारितामा सक्रिय नभएकालाई सदस्यता छोड्न सार्वजनिक आह्वाहन गर्ने र निष्क्रिय र आचारसंहिता विपरित काम गर्ने सदस्यबारे छानबिन र शुद्धिकरण प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ ।