काठमाडौं, ३० पुस । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित चीनका नवनियुक्त राजदूत हाउ याङछीले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार (आज) सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत याङछीले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटमा चिनियाँ पिपुल्स कंग्रेसका सभामुखले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाउनुभएको शुभकामना सन्देश राजदूत याङछीले सभामुखलाई हस्तान्तरण गरेकी थिइन् ।
सो अवसरमा सभामुख महराले नेपाल–चीन सम्बन्ध निकै प्रगाढ र घनिष्ट रहेको बताए । दुई देशबीच कूटनीतिक र राजनैतिक सम्बन्धका साथसाथै दुई देशका जनताबीच पनि घनिष्ट सम्बन्ध रहेको बताए ।
‘नेपाल र चीनबीच कूटनीतिक र राजनीतिक सम्बन्ध प्रगाढ त छँदैछ, सभामुख महराले भने, ‘दुई देशका जनताबीचको सम्बन्ध पनि निकै घनिष्ट रहेको छ, जसले दुई देशबीचको सम्बन्धलाई थप मजबुत र बलियो बनाएको छ ।’











