धादिङ, २९ पुस । धादिङको बेनी घाटरोराङमा वस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । बस दुर्घटनामा बर्दियाका १८ वर्षीय नरेन्द्र थारु चौधरीको मृत्यु भएको छ । चौधरीलाई उपचारको क्रममा चितवन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको बा २ ख ४६८३ नम्बरको यात्रुवहाक बस बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना भएको हो । अत्यधिक गतिमा गुडेको उक्त बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
घाइतेको बजारवासी प्रहरीले उद्धार गरी राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ पठाइएको छ । गाडीमा ४१ जना सवार रहेको बताइएको छ ।











