काठमाडौं, २८ पुस । वैकल्पिक राजनीतिक शक्ति दाबी गर्दैै आएको विवेकशील साझा पार्टी स्थापनाको १७ महिनामै फुटेको छ । संयोजक रवीन्द्र मिश्रले मनोमानी ढंगले पार्टी चलाएको आरोप लगाउँदै अर्का संयोजक उज्ज्वल थापा १६ केन्द्रीय सदस्य लिएर बाहिरिएका हुन् ।

sajhahaशुक्रबार थापा समूहका ४३ प्रतिशत केन्द्रीय सदस्यले निर्वाचन आयोगमा नयाँ पार्टी ‘विवेकशील नेपाली दल’ दर्ताका लागि निवेदन दिएका छन् । तीनजना प्रदेश सांसदमध्ये रमेश पौडेल र विराजभक्त श्रेष्ठ थापा समूहमा छन् ।

सामाजिक अभियन्ता थापा नेतृत्वको विवेकशील पार्टी र पूर्वपत्रकार मिश्र नेतृत्वको साझा पार्टीबीच एकता भई ११ साउन ०७४ मा विवेकशील साझा पार्टी घोषणा भएको थियो ।

केही समययता थापाले पार्टी सञ्चालन गर्ने मिश्रको शैलीप्रति असन्तुष्टि जनाउँदै आएका थिए नयाँ पत्रिकामा खबर छ । संयोजक थापाको अनुपस्थितिमा मिश्र समूहले मंगलबार पाँच केन्द्रीय सदस्य सिफारिस तथा १२ विभाग खारेज गरेपछि विवाद चुलिएको थियो । गत मंगलबारको निर्णय अनुमोदन गर्न आगामी सोमबार केन्द्रीय समिति बैठक बोलाइएकोमा त्यसअघि नै पार्टी विभाजित भएको छ ।

१७ महिनामा पार्टीमा वैकल्पिक राजनीतिक बुझाइ र व्यवहारमा ठूलो भिन्नता रहेको प्रस्टै देखियो । मूल्य–मान्यतामा आधारित राजनीति र पार्टीमात्र नभएर परिपाटी विकास गर्ने अभियानमा यो यात्राले नतिजा दिन नसक्ने स्थिति आयो । अहिलेकै ढंगले अघि बढ्दा निर्णय–प्रक्रिया अपारदर्शी हुने, पार्टीमा सहभागितामूलक अभ्यास कमजोर हुने र सानो कोटरीले निर्णय गर्ने प्रवृत्तिले प्रश्रय पाउने भयो ।