काठमाडौं, २६ पुस । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको शवबाट निकालिएको ‘भेजिनल स्वाब’को वैधानिकतामा शंका लागेको भन्दै उनकी आमा दुर्गादेवी पन्तले क्रस चेकका लागि आफ्नो रगतको नमुना दिएकी छन् ।

nirmalaहत्यापछिको अनुसन्धानका लागि प्रहरीले निकालेको छोरीको भेजिनल स्वाबमा शंका लागेको भन्दै उनले बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा क्रसचेकका लागि रगतको नमुना दिएकी हुन् । प्रहरीले बुधबार नै दुर्गादेवीको डीएनए जाँचका लागि रगतको नमुना लिएको जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले निर्मलाकी आमाले छोरीको भेजिनल स्वाब चेकजाँच गर्न भन्दै आफ्नो रगतको नमुना महाकाली अञ्चल अस्पतालमा बुझाएको बताए । ‘निर्मलाकी आमाले आफ्नो रगतमार्फत निर्मलाको भेजिनल स्वाबको वैधानिकता चेकजाँच गरी पाऊँ भनी निवेदन दिएपछि उहाँको रगतको नमुना लिइएको हो,’ कञ्चनपुर प्रहरी प्रमुख कडायतले भने ।

उनका अनुसार रगतको नमुना आज चेकजाँचका लागि कञ्चनपुरबाट केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइने छ आजको राजधानीमा खबर छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले निर्मलाकी आमाको रगतको नमुना लिइएकाबारे बुधबार अबेरसम्म आधिकारिक जानकारी नआएको तर लिइएको भए जुन प्रयोजनका लागि लिइएको हो सोही प्रयोजनका लागि प्रयोग गरिने बताए । ‘अहिलेसम्म आधिकारिक जानकारी आएको छैन, लिइएको हो भने जुन प्रयोजनका लागि लिइएको हो, सोही प्रयोजनका लागि प्रयोग हुन्छ,’ प्रहरी प्रवक्ता सुवेदीले भने ।

१० साउनमा साथीको घरमा जान भनी हिँडेकी निर्मलाको ११ साउनमा घरनजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।