पर्वत, २१ पुस। जन्म दिने बाबुको अकालमै मृत्यु हुनु र आमा दोस्रो विवाह गरी गएपछि उनीहरूले जन्म दिएका बालबालिकाको अवस्था कस्तो होला ? हामी सहजै अनुमान गर्न सक्छौँ, निकै दयनीय । यहाँको एक दलित समुदायका तीन बालक यस्तै बिचल्लीमा परेका छन् ।

poilaaपर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित छेउखन्नाका धनबहादुर दमैका तीन छोरा बिचल्लीमा परेका हुन् । धनबहादुरको २०७४ मङ्सिर १४ गते मृत्यु भएको हो भने उहाँका दुई श्रीमती सावित्री दमै विगत चार वर्षअघि र कान्छी श्रीमती देवी परियार दुईवर्ष अघि दोस्रो विवाह गरी छाडेर गए । देवीतर्फका छोरा विवेक दमै र सावित्रीतर्फ जन्मिएका विशाल र विश्वास अहिले सहाराविहीन बनेका छन् । उनीहरू वृद्ध हजुरबुबा र हजुरआमाको साथमा जीवनयापन गर्दै आएका छन् ।

जग्गा जमीनको नाममा सानो झुप्रोबाहेक केही नभएका उनीहरूको आम्दानीको स्रोत नहुँदा बिहान बेलुकाको छाक टार्न र एकसरो लुगा लगाउन समेत धौधौ परेको हजुरआमा गौमती दमैले बताए। सत्तरी वर्षीय हजुबुबा केदार दमै गाउँमै मजदूरी पेशा गर्दै आएका छन् । उनले काम पाउँदाको दिन र कमाइ भएको दिन तीन नातिले पेट भरिञ्जेल खान पाउँछन् नत्र खानसमेत पाउने अवस्था छैन”, हजुरआमा गौमतीले रुँदै भनिन्, “मेरो परिवारमा बज्रपातनै प¥यो ।”

पन्ध्र वर्षीय विशाल कक्षा ९, १४ वर्षीय विवेक कक्षा ७ र १२ वर्षीय विश्वास कक्षा १ मा अध्ययन गर्दै आएका छन् । स्थानीय सार्वजनिक माविमा अध्ययन गर्दै आएका उनीहरूलाई नियमित पठनपाठनमा समेत समस्या भएको छ । अहिलेसम्म कुनै निकायबाट पनि सहयोग पाइएको छैन, जाडो महीना छ, गतिलो कपडासमेत लगाउन नपाउँदा बालक झनै समस्यामा परेका छन् ।

अहिलेको निकै जाडोमा गतिलो कपडा लगाउने र ओढ्ने ओच्छ््याउने समेत नहुँदा निकै समस्यामा परेको गौमतीले बताए। “सहयोगको नाममा नगरपालिकाले रु १० हजार सहयोग गरको थियो । सोही पैसाले छोराको मृत्यु हुँदा लागेको ऋण तिरियो । अहिले परिवारमा निकै ठूलो आर्थिक समस्या परेको छ”, उनले दुखेसो पोखिन् ।

जिल्लामा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल सरुवा भएर आएपछि भने बालकलाई भगवाननै आए जस्तो भएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले उक्त परिवारको राहतका लागि पहल गर्दै आएका छन् ।

गत वैशाखमा सरुवा भएर आउनुभएका ढकालले गत जेठ महीनामै बालकहरूको हेरचाह, पालनपोषण र शिक्षादीक्षाका लागि पहल गरेपछि अहिले नियमितरूपमा मासिक ६ हजार परिवारले पाउने गरेको छ । स्थानीय वडाको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी ढकालले एसओएस सामाजिक सेवा केन्द्र गण्डकीलाई पत्राचार गरेपछि अहिले उक्त संस्थाले तीन बालकका लागि मासिक रु दुई÷दुई हजारका दरले सहयोग गर्दै आएको छ । रासस