तुलसीपुर, २० पुस । दाङको तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण सुरु गरेको छ । उपमहानगरपालिका भित्र वसोवास गर्ने ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम अनुसार उपमहानगरपालिकाले कपडा वितरणलाई निरन्तरता दिएको हो ।
उपमहानगरपालिका भित्रका करिव ६ सय ज्येष्ठ नागरिकलाई कपडा वितरण गरिने जनाइएको छ । उपमहानगरपालिकाले दलितको हकमा ८० वर्ष र अन्य समुदायमा ८४ वर्ष पुरा भएकालाई न्यानो कपडा वितरण गर्दै आएको छ । यो वर्ष पुस मसान्तसम्म सम्वन्धित वडा कार्यालयबाट न्यानो कपडा वितरण गरिने उपमहानगरपालिकाका समाज कल्याण अधिकृत टोपवहादुर डाँगीले जानकारी दिए ।
ज्येष्ठ नागरिकलाई सम्मान गर्नका लागि उपमहानगरपालिकाले सञ्चालन गरेको कार्यक्रम शुक्रवारबाट सुुरु भएको हो । कार्यक्रमको शुभारम्भ गर्दै उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले ज्येष्ठ नागरिकको योगदानलाई कसैले भुल्न नहुने वताए । नगर प्रमुख पाण्डेले ज्येष्ठ नागरिक समाजको अंग भएकाले सबैले सम्मान गर्नुपर्ने कुरामा जोड दिए ।
‘ज्येष्ठ नागरिकको सम्मान नगर्नु भनेको इतिहासको अवमुल्यन गर्नुु हो नगरप्रमुख पाण्डेले वताए । नगरप्रमुख पाण्डेले नयाँ र पुरानो पुस्ताका विचमा रहेको पुस्तान्तरणलाई हटाउनका लागि उपमहानगरपालिकाले अनुभव आदान प्रदान कार्यक्रम सञ्चालन गर्न लागेको समेत जानकारी दिए ।











