काठमाडौं, १६ पुस। सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि ५२ हजार कर्मचारीको विवरण अद्यावधिक गरेको छ । राष्ट्रिय किताबखानाले समायोजन प्रयोजनका लागि कर्मचारी विवरण अद्यावधिक गरेको हो ।
निजामतीतर्फका ८९ हजारमध्ये किताबखानाले ५२ हजारको विवरण तयार पारेको हो । बाँकीको विवरण छिट्टै तयार पारिने किताबखानाले जानकारी दिएको छ आजको राजधानीमा खबर छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले किताबखानाले तयार पारेको यही विवरणका आधारमा कर्मचारीको समायोजन गर्नेछ । मन्त्रालयले गत बुधबारै सार्वजनिक सूचनामार्फत कर्मचारीलाई समायोजन फाराम भर्न आह्वान गरिसकेको छ ।
२१ दिनको म्याद दिएको सरकारले त्यसलगत्तै कर्मचारीको समायोजन थाल्नेछ । सरकारको सो सूचनाअनुसार कर्मचारीले संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि छनोट गर्नुपर्नेछ ।
समायोजन अध्यादेशमा कर्मचारी समायोजन गर्दा अपनाउनुपर्ने प्रमुख आधारका रूपमा कर्मचारी कार्यरत पदको ज्येष्ठता, सो पदमुनिको पदको ज्येष्ठता र उमेरको ज्येष्ठतालाई राखिएको छ ।
समायोजन अध्यादेशमा भएको समायोजनका आधारका लागि सोहीअनुसार कर्मचारीको विवरण अद्यावधिक गरिएको किताबखानाका महानिर्देशक जयराज आचार्यले जानकारी दिए । ‘हामीले तयार पारेको विवरणका आधारमा नै सरकारले कर्मचारीको समायोजन गर्नेछ,’ महानिर्देशक आचार्यले भने ।











