काठमाडौँ, १५ पुस । वैदेशिक रोजगारीमा जाने कामदारलाई सहज रूपमा सेवा दिनका लागि सरकारले आइतबारदेखि जनकपुर र बुटवलबाट पनि पुनः श्रम स्वीकृति दिने कम सुरु गर्ने भएको छ । जसका कारण अब वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगी घर बिदामा आएका नेपाली कामदारले पुनः श्रम स्वीकृतिका लागि काठमाडौं धाउनुपर्ने छैन ।

baideshik-rojgarहाल काठमाडौंमा मात्र केन्द्रीकृत रूपमा रहेको वैदेशिक रोजगारीसम्बन्धी विविध सेवालाई विकेन्द्रीकृत गरी सेवाग्राहीलाई सहज रूपमा सेवा दिने उद्देश्यले गत साता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १५ पुसदेखि प्रदेशस्तरबाटै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि पुनः श्रम स्वीकृति र पूर्वश्रम स्वीकृति दिने निर्णय गरेको थियो आजको राजधानीमा खबर छ । सोही निणर्यअनुरूप सरकारले पहिलो चरणमा आइतबारबाट पुनः श्रम स्वीकृतिको व्यवस्था प्रदेशस्तरबाटै सञ्चालन गर्न लागेको हो ।

मन्त्रालयका अनुसार विभिन्न मुलुकबाट घर बिदामा आएका कामदारलाई आफ्नै घर नजिकैबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था गर्न पहिलो चरणमा प्रदेश नम्बर २ को जनकपुर र प्रदेश नम्बर ५ को बुटवलबाट सेवा उपलब्ध गराउन लागिएको हो । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहज बनाउन आइतबारदेखि यी दुई ठाउँबाट पहिलोपटक पुनः श्रम स्वीकृति दिने कार्य थालनी गर्न लागेको मन्त्रालयले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले यस्तो व्यवस्थाका लागि मन्त्रालयले जनकपुर र बुटवलमा रहेका प्रदेशगत श्रम तथा रोजगार कार्यालयमा वैदेशिक रोजगार एकाइ गठन गरिएको जानकारी दिए । उनले अहिलेलाई ती कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृतिको सेवा प्रदान गरिने बताए । यसैगरी, उनले यी दुई कार्यालयबाट वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन गर्ने, सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम हुने बताए ।

उनले एउटै कार्यालयबाट सेवा दिँदा निकै चाप हुने र श्रम स्वीकृतिका लागि पनि काठमाडौं नै आउनुपर्ने बाध्यकारी अवस्था हटाउन सरकारले यस्तो व्यवस्था मिलाएको बताए । विस्तारै अन्य प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट पनि सेवा सञ्चालनको व्यवस्था मिलाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।