गोरखा, २१ असार
गोरखामा पहिरोमा पुरिएर ३ जनाको ज्यान गएको छ । केरौंजा–३ फलिङपुमा मंगलबार बिहान सवा ११ बजेतिर झरेको पहिरोमा पुरिएर केरौंजा–४ का १५ वर्षका सन्देश घलेको ज्यान गएको हो । यस्तै केरौंजा–४ कै ३० वर्षकी चीनमाया गुरुङ र ४५ वर्षकी कान्छीमाया गुरुङको पनि शव निकालिएको प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिनुभयो ।
उहाँका अनुसार केही दिन अघिको पहिरोले पुरिएको गाउँ जाने मूल बाटो बनाउने क्रममा झरेको पहिरोले उनीहरु पुरिएका हुन् । पहिरोमा पुरिएका तीन जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ ।
केरौंजा–४ का ४० वर्षका पुङगे गुरुङ, ४० वर्षकै उकाल गुरुङ र १२ वर्षका सुकराम घलेको छिमेकी गुम्दा गाविसको माछाखोलास्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
घाइते मध्ये सुकरामको अवस्था चिन्ताजनक रहेको उहाँले जानकारी दिनुभयो ।