काठमाडौं, ११ पुस । देशमा विशेषज्ञ डाक्टरको अभाव छ, तर सरकारी छात्रवृत्तिमा विशेषज्ञ (एमडी) गरेका ७२ चिकित्सकले लाइसेन्स नै पाएका छैनन् । लाइसेन्सको अभावमा उनीहरूको पोस्टिङ हुन सकेको छैन ।

close up of patient and doctor taking notesचिकित्साशास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ अनुसार स्वास्थ्य मन्त्रालयले ७२ चिकित्सकलाई सरकारी शिक्षण संस्थाहरूमा एमडी गराएको थियो । देशभर विशेषज्ञ चिकित्सक अभाव भएका वेला सरकारले तीन वर्षअघिबाट नियमित रूपमा सरकारी शिक्षण संस्थामा एमडी पढाउन सुरु गरेको थियो आजको नयाँ पत्रिकामा खबर छ। ‘चिकित्सकहरूको पोस्टिङ रोकिँदा सेवामा गम्भीर समस्या देखा परेको छ,’ स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखाका एक अधिकारीले भने ।

परीक्षाका लागि अझै तीन महिना पर्खनुपर्ने
लाइसेन्स परीक्षाका लागि उनीहरूले अझै तीन महिना पर्खनुपर्नेछ । मन्त्रालयका छात्रवृत्ति शाखाका प्रमुख भीम सापकोटाले तत्काल व्यवस्थापन नगरे आगामी दिनमा पनि यस्तो समस्या झेल्नुपर्ने बताए । अब हरेक वर्ष छात्रवृत्तिमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकको उत्पादन हुन्छ ।

विशेषज्ञ चिकित्सक परिचालन व्यवस्थामा छात्रवृत्तिमा अध्ययन गरेका व्यक्तिले नेपाल मेडिकल काउन्सिलबाट अस्थायी दर्ताको प्रमाणपत्र पाप्त गरेको मितिले सात दिनभित्र मन्त्रालयमा सम्पर्क राख्नुपर्ने उल्लेख छ । तर, उनीहरूसँग विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र छैन ।