सल्यान, ५ पुस । सल्यान जिल्लाको एकिकृत पर्यटकीय विकास गर्ने उद्देश्यले ल्याइएको पर्यटकीय चक्रपथ निर्माण योजनाको काम शुरु भएको छ । यस योजनालाई निकै महत्वको साथ हेरिएको छ ।

48382092_1599535893524707_1909199476598243328_oसल्यान जिल्लालाइ छिमेकी जिल्लाहरुको सिमानासंगै परिक्रमा गर्ने गरी चक्रपथ निर्माण कार्य कपुरकोटदेखि शुरु भएको हो । स्थानीय पूर्वाधार विकास साझेदारी विकास कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाँको बजेटबाट चक्रपथ निर्माण कार्य शुरु गरिएको हो ।

यस योजनाको लागि संघीय सरकारबाट थप १ करोड रुपैयाँ विनियोजन भएको संघीय प्रतिनिधीसभाका सांसद् टेकबहादुर बस्नेतले बताएका छन् । कर्णालीको प्रवेशद्धार मानिने कपुरकोटबाट शुरु भएर यस चक्रपथले जिल्ला परिक्रमा गर्ने र फेरि कपुरकोटमै आएर टुंगीने बस्नेतले जानकारी दिए ।

यो योजना अनुसार करिव २६० किलोमिटर सडक निर्माण भएमा सल्यान परिक्रमा गर्ने चक्रपथ पुरा हुन्छ । अहिले विभिन्न स्थानीय तहहरुले आआफ्नो क्षेत्रमा १२० किलोमिटर निर्माण गरिसकेका छन् ।

यस आवमा चक्रपथलाई जोड्ने सडकका लागि बागचौर नगरपालिकाले ५० लाख, दार्मा गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकाले २०/२० लाख र कुमाख गाउँपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेका छन् ।