तुलसीपुर, २ पुस । तुलसीपुर उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षको चौमासिक कार्य प्रगतिको समिक्षा गरेको छ । उपमहानगरपालिकाको आयोजनामा भएको समिक्षा कार्यक्रममा उपमहानगरपालिकाका सम्पूर्ण वडाका साथै शाखाहरुले चौमासिक प्रगतिको समिक्षा गरेका हुन् ।
उपमहानगरपालिकाका १९ वटै वडा कार्यालयले समिक्षा कार्यक्रममा प्रथम चौमासिकमा पूर्वाधार विकास तर्फ नदिजन्य पदार्थको समस्याका कारण खासै काम गर्न नसकिएको वताएका थिए । चौमासिक समिक्षा गर्दै वडा नम्वर १ का अध्यक्ष लक्ष्मण भण्डारीले योजनाको स्टिमेट समेत भइसकेको तर नदिजन्य पदार्थको टेण्डर नखुल्दा विकास निर्माणको काम अगाडि वढ्न नसकेको गुनासो गरे ।
वडा नम्वर १२ का वडा सचिव केशव डाँगीले कतिपय जनतामा सरकारको वजेटमा जे गरेपनि हुन्छ भन्ने सोच रहेका कारण काम गर्न गाह्रो परेको वताए । “वजेट अनुकुल काम नगर्ने अनि आफैले नराम्रो काम भयो भन्ने सोच रहेको देखिन्छ ” डाँगीले वताए । उनले अनुगमनलाई प्रभावकारी वनाउनुपर्ने सुझाए ।
वडा नम्वर ४ का वडाध्यक्ष वालकृष्ण रानाले योजनाहरुमा जनसहभागिता कम हुँदै गएको भन्दै जनतामा आफ्नो काम राम्रोसँग गर्नुपर्दछ भन्ने सोचको विकास गराउनुपर्ने कुरामा जोड दिए । उनले जनतामा विकास आफ्नो लागि हो भन्ने सोचको विकास गर्नुपर्ने आवश्यकता रहेको वताए ।
वडा नम्वर १४ का वडाध्यक्ष पर्शुुराम चौधरीले आफ्नो वडालाई कालोपत्रेले नछोएको वताउँदै विभिन्न ठाउँमा ट्रयाक खोलेर वाटो पुर्याएको वताए । प्राविधिकको अभावमा समयमै काम सम्पन्न गर्न कठिनाइ भएको उनको कथन थियो । उनले जिविकोपार्जनमुखी तरकारी खेतिलाई व्यावसायिक वनाउनका लागि वडाले किसानलाई सहुलियत दिएको समेत उनले जानकारी दिए ।
वडा नम्वर ५ का वडाध्यक्ष विरेन्द्र शाहले वडालाई ध्वनी प्रदुषण मुक्त वनाउनका लागि तुलसीपुर वजारलाई हर्न निषेध घोषणा गरेको जानकारी गराए । उनले हर्न निशेष कार्यान्वयनका लागि संरचना निर्माणमा थप काम गरिरहेको समेत वताए ।
वडा नम्वर १६ का वडाध्यक्ष भुपवहादुर केसीले योजनाको अनुगमन प्रभावकारी वनाउनुपर्ने कुरामा जोड दिएका थिए । उनले कर्मचारीहरुलाई नयाँ प्रविधिको कुराका वारेमा जानकारी गराउनुपर्ने वताए ।











