काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्वको शान्तिपूर्ण समाधानले गोलीमाथि मतको सर्वोच्चतालाई स्थापना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताएका छन् ।

kpएशिया प्रशान्त शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै नेपालजस्तो विविधतापूर्ण समाजमा वार्ता, समझदारी, आपसी सम्मान, सम्झौता र संलग्नताले भित्री र बाह्य द्वन्द्वलाई सफलतापूर्वक समाधान गर्न सकिन्छ भन्ने देखाएको ओलीले स्पष्ट पारे ।

नेपालमा राजनीतिक सङ्क्रमणबाट पार भई इतिहासमा महत्वपूर्ण उपलब्धि हासिल भएको र सन् २००६ मा आरम्भ भएको विस्तृत शान्ति प्रक्रिया सफल भएको उनले बताए ।

‘‘हामीले शान्ति प्रक्रियालाई आधारभूत रुपमा सम्पन्न गरेका छौँ र हामीले हाम्रो इतिहासको सबैभन्दा कठिनमध्ये एक समयलाई पछाडि छाडेका छौँ । मुलुकको मौलिकतामा भर पर्ने हाम्रो सफल पाठले अरुलाई पनि उदाहरणका रुपमा सिकाउन सक्छ । हामीले जनताका प्रतिनिधिबाट संविधान लेखनको ऐतिहासिक जिम्मेवारी पनि सम्पन्न गरेका छौँ’’, प्रम ओलीले भने । सम्मेलनको उद्घाटन प्रधानमन्त्री ओलीले गरेका थिए ।