घोराही, ५ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले व्यक्तिगत घटना दर्तालाई कम्प्युटर मार्फत अनलाइन प्रणालीमा लगेको छ । वडा कार्यालयले मंगलवार दुई जना बच्चाहरुको जन्मदर्ता कम्प्युटर मार्फत अनलाइन प्रणालीमा गरिदिएको हो ।

ghorahinagarpalikaभिषन वली र दिपा वलीको जन्मदर्तालाई अनलाइन मार्फत गरिएको हो । सो जन्मदर्ताको प्रमाणपत्र नगर प्रमुख नरुलाल चौधरीले उनीहरुका अभिभाबकलाई हस्तान्तरण गरी व्यक्तिगत घटना दर्तालाई कम्प्युटर मार्फत गर्ने कार्यको थालनी भएको हो ।

वडाका कार्यबहाक अध्यक्ष जगतबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले वडाबासीका कुनै पनि व्यक्तिगत घटनाहरुलाई व्यवस्थित र सुरक्षित बनाउन प्रबिधिलाई प्रयोग गरिएको जानकारी दिए।

कम्प्युटर प्रणालीबाट दर्ता भएका कुनै पनि घटनाहरु केन्द्रिय पञ्जीकरण विभागमा जोडिने छ । वडाले यस अघि नै वडाबाटै कम्प्युटर प्रणाली मार्फत सम्पत्ती कर र मालपोत समेत बुझ्दै आएको छ ।