इन्द्रेणी संवाददाता
दाङ, ३ मंसिर । दाङको घोराही उपमहानगरपालिका, नेपाल उर्जा विकास कम्पनी प्रालि काठमाडौं र वैकल्पिक उर्जा प्रर्बधन केन्द्र ललितपुरसँग त्रिपक्षीय घोराही उपमहानगरपालिकाभित्र उत्पादन हुने फोहरबाट ग्याँस उत्पादन गर्ने सम्झौता भएको छ । जसमा एक वर्षभित्र फोहरबाट ग्याँस उत्पादन गर्ने गरी कम्पनीलाई २० वर्षसम्मका लागि जिम्मा दिइएको छ ।

ghorahi1दुई वर्षको लामो गृहकार्यपछि सम्झौता पत्रमा हस्ताक्षर भएको मेयर नरुलाल चौधरीले बताए । सम्झौता पत्रमा उपमहानगरपालिकाका तर्फबाट प्रमुख नरुलाल चौधरी, ग्याँस उत्पादन गर्ने निजी कम्पनीकातर्फबाट नेपाल उर्जा विकास कम्पनी प्रालिका निर्देशक श्रीराम अधिकारी र बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका तर्फबाट कार्यक्रम व्यवस्थापक प्रकाश आर्यालले हस्ताक्षर गरेका छन् ।

त्यस्तै सम्झौता पत्रमा साक्षिकारुपमा घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनार र सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेलले हस्ताक्षर गरेका छन् भने निजी कम्पनीका तर्फबाट नेपाल उर्जा विकास कम्पनी प्रालिका प्रबन्धक फूलराज चौधरी र बैकल्पिक उर्जा प्रर्बद्धन केन्द्रका व्यवसाय विकास अधिकृत दिपक पौडेलले हस्ताक्षर गरेका छन् ।
रु. २० करोड रुपैयाँको लागतमा उक्त ग्यास उद्योग स्थापना हुनेछ । सो बजेटमा ६० प्रतिशत निजी कम्पनी र ४० प्रतिशत विश्व बैंकको रहनेछ । करौटी डाँडामा रहेको ल्याण्डफिल साईडमै ग्यास उद्योग स्थापना हुनेछ ।