काठमाडौं, १८ कार्तिक। युवा तथा साना व्यवसायी स्वरोजगार कोषकै संरक्षण र मिलेमतोमा सहकारीले ऋणीसँग बढी ब्याज लिएको पाइएको छ । बेरोजगार व्यक्तिलाई रोजगार बनाउन विभिन्न सहकारीमार्फत रकम वितरण गरेकोमा सहकारीले मनलाग्दी ब्याज लिएको र कोषले कारबाहीको सट्टा संरक्षण गरेको पाइएको हो ।
सहकारीले सुन व्यवसायी, बस व्यवसायी, ठेकेदार, मदिरा पसललगायतमा नियमविपरीत लगानी गरे पनि कोष सचिवालय मौन बसेर सहमति दिएको हो आजको राजधानीमा खबर छ।
कतिपय एउटै सहकारीले तीन किसिमको ब्याजसमेत लिएको पाइएको छ । त्यसमा कोषले भने अनुगमन गरेरसमेत कुनै कारबाही नगरेको र कतिपयमा भने कागजमा मात्र अनुगमन राखेर तलबभत्ता लिएको समेत फेला परेको हो ।
कृषि सहकारी कास्कीले बस व्यवसायी र ट्याक्सी व्यवसायीलाई समेत स्वरोजगार कोषबाट प्राप्त रकम नियमविपरीत लगानी गरेको फेला परेको छ । कोषको रकम बेरोजगार र निरक्षरका लागि रोजगार बनाउने उद्देश्य भए पनि मनलाग्दी गरिएको पाइएको हो ।
सुनसरीको इटहरीमा अवस्थित अंकुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सुन व्यवसायीलाई पनि स्वरोजगारको नाममा रकम दिएको छ । सहकारीले नियमविपरीत सीताराम विश्वकर्मालाई २ लाख लगानी गरेको हो । के.ब. बस्नेत सुन पसललाई पनि २ लाख दिएको छ ।
सहकारीले शिवा गुरुङको कोल्ड ड्रिङस डिलरलाई पनि २ लाख लगानी गरेको भेटिएको हो । कोल्ड ड्रिङस होलसेल व्यवसायी रामकुमार प्रधानले पनि स्वरोजगारको लाख रुपैयाँ पाए भने निर्मल दाहालको मोबाइल पसलले २ लाख पाएको छ ।











