इन्द्रेणी संवाददाता
दाङ, १७ कार्तिक । दाङको तुलसीपुर उपमहानगरपालिकाले कृषि वजारलाई व्यवस्थित गर्नका लागि आधुनिक कृषि उपज वजार केन्द्र निर्माणको काम थालनी गरेको छ ।

IMG_2766कृषक र व्यवसायीहरुलाई एकै ठाउँबाट कृषि उपज विक्री गर्न मिल्ने गरि तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ मा रहेको मावि सेन्टरको जग्गा भाडामा लिएर भवन निर्माण गर्न लागिएको हो । २ करोड ६९ लाखको लागतमा निर्माण हुने भवन दुई चरणमा निर्माण हुनेछ । पहिलो चरणमा टहरा, वाटो, लगायतका संरचना निर्माण हुने निर्माण समितिका अध्यक्ष झुपलाल खड्काले वताए ।

उनले पहिलो चरणमा १ करोड १० लाख लागत लाग्ने र त्यसमा ३० लाख उपमहानगरपालिकाले अनुदान दिने र ८० लाख व्यवसायीहरुले उठाउने पनि जानकारी दिए ।  ‘पहिलो चरणको काम चैत्र अगाडि नै सम्पन्न भएर वजार सञ्चालनमा आउने छ त्यसपछि दोस्रो चरणको काम हुनेछ ’ खड्काले भने । उनले दोस्रो चरणमा शितभण्डार निर्माण लगायतका अन्य कामहरु गर्ने समेत जानकारी दिए । तरकारी र फलफुल व्यापारीका लागि ४० वटा टहरा निर्माण गरिने र विचमा किसानहरुको कृषि उपज विक्रीका लागि ठाउँ राखिने पनि उनले वताए ।

उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले शनिवार भवनको शिलन्यास गरेका हुन् । शिलन्यास कार्यक्रममा वोल्दै नगरप्रमुख पाण्डेले आफु उपमेयर हुँदा नै तुलसीपुरको तरकारी वजार निर्माण गरेको र अहिले पनि त्यसलाई थप व्यवस्थित गर्न लागेको वताए । समृद्धिको पहिलो शर्त उत्पादन र वितरण भएकाले कृषि उत्पादन वृद्धि गर्न र विक्री वितरणलाई व्यवस्थित गर्नका लागि उपमहानगरपालिकाले कृषिमा विशेष योजना निर्माण गरेको वताए ।

दक्ष कृषि प्राविधिक उत्पादन गर्नका लागि यसै वर्षबाट कृषि प्राविधिक सञ्चालनका लागि सामुदायिक विद्यालयलाई उपमहानगरपालिकाले अनुदान समेत दिएको पाण्डेले वताए । उनले २० वर्षपश्चात सबै संरचना विद्यालयलाई दिने गरि वजार केन्द्र निर्माण गर्न लागेको समेत वताए । ‘अहिले विद्यालयलाई यो जग्गाको आवश्यकता छैन तर २० वर्षपछि त्यो महसुस भयो भने अर्को ठाउँमा वजार सारिनेछ ’ पाण्डेले भने । कृषि उपजमा विषादी प्रयोगको क्रमलाई रोक्नका लागि वजार केन्द्रमा ल्याव समेत राखिने उनले वताए ।

कार्यक्रममा वोल्दै कृषि शाखा प्रमुख तिलक केसीले वजार केन्द्र स्थापनासँगै किसानहरुले कृषि उपजमा उचित मुख्य पाउने कुरा वताए । कृषक दोलख वहादुर खत्रीले वजार केन्द्र निर्माणले आफुहरु खुसी भएको वताउँदै किसानले कृषि उपज उचित मुल्यमा विक्र गर्न पाउनेमा आशावादी रहेको वताए । मावि सेन्टरका प्रधानाध्यापक भागवत पौडेलले विद्यालयको खाली जग्गालाई कृषिको विकासका लागि प्रयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । व्यवसायी दामोदर वाँनीयाको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपवहादुर खत्री लगायतले वोलेका थिए भने कार्यक्रमको सहजिकरण व्यवसायी माधव घिमिरेले गरेका थिए ।