इन्द्रेणी संवाददाता
दाङ, १४ कार्तिक । मंसिरदेखि दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा साताको तीन पटक हवाइ उडान हुने भएको छ ।
नेपाल एयरलाइन्सका कमर्सियल डाइरेक्टर टंकनिधि दाहालका अनुसार मंसिर महिनाको पहिलो साताबाट टरिगाउँ विमानस्थलमा सोमबार, वुधवार र शुक्रवार गरेर सातामा तीन पटक उडान हुने छ ।
यसअघि साताको द्ुई पटक मात्र उडान भर्दै आएको उक्त एयरलाइनले यात्रुको माग अनुसार सातै दिन हवाई सेवा सञ्चालन गर्न पनि सकिने दाहालले बताए ।
तुलसीपुर उपमहानगरपालिका र नेपाल एयरलाईन्सका विचमा सम्झौता गर्न बाँकी रहेको र सम्झौता भएसँगै विमान सेवाको सुविधा थप गरिने पनि उनले वताए । उनले सातामा तीन पटक हवाई सेवा सञ्चालन भएसँगै हवाई भाडा पनि केही घट्ने वताए ।
वुधवार तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे, नेपाल वायु कमर्सियल डाइरेक्टर टंकनिधि दाहाल, कमर्सियल डिपार्टमेन्ट निर्देशक सञ्जय पन्त, डेपुटी डाइरेक्टर सविना शाक्य लगायतकासँग गरेको छलफलमा यस्तो निर्णय भएको हो ।











