काठमाण्डौ, २० असार
इराकको राजधानी बग्दानमा अतिवादी संगठन इस्लामिक स्टेट आइएसले गराएको बम विस्फोटनमा परि कम्तिमा एक सय २५ जनाको ज्यान गएको छ भने एक सय ५० जना घाइते भएका छन् । इराक सरकारले बग्दाद आक्रमणमा मारिएकाको सम्झनामा तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । शनिबार अबेर राति सर्वसाधारण नागरिकको भिडभाड रहेको कार्रादामा विस्फोटक पदार्थले भरिएको लरी विस्फोट भएको थियो । irak

रमादान महिना चलिरहेकाले दिनको उपवास सकेर बेलुका बजारमा किनमेलका लागि निस्केका मानिसले विस्फोटनमा परि ज्यान गुमाएका छन् । केहीका सबै परिवार विस्फोटनमा परेका तथा केहीको शरीर चिन्न नसक्ने गरी जलेको उद्धारकर्मीले बताएका छन् ।
प्रधानमन्त्री हैदर अल अबादीले हिजो बिहान घटनास्थलको अवलोकन गर्नु भएको थियो । तर आक्रोशित नागरिकले उहाँको गाडीमा ढुंगा प्रहार गरेका थिए । प्रधानमन्त्रीको कार्यालयले त्यसपछि आक्रमणमा ज्यान गुमाएकाको सम्झनामा तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको हो । उद्धारकर्मीले गएराति अबेरसम्म पनि घटनास्थलमा उद्धार तथा राहतको काम गरेको सरकारी अधिकारीले बताएका छन् ।

इराकी सेनाले आइएसको नियन्त्रणमा रहेको फलुजा शहर आफ्नो कब्जामा लिएको एक हप्तापछि नै यो आक्रमण भएको हो । बग्दादको अल हादी सेन्टर नजिक विस्फोटक पदार्थले भरिएको रेफ्रिजिरेटरको भ्यान विस्फोट भएको हो । विस्फोट लगतै त्यसवरपरको क्षेत्रमा आगलागी भएको थियो । विस्फोटका कारण धेरै भवन क्षतिग्रस्त भएका छन् ।

आइएसले पछिल्लो सयम हिंसात्मक गतिविधि बढाएको छ । शुक्रबार मात्रै आइएसले बंगलादेशको राजधानी ढाकामा आक्रमण गरी २० जनाको हत्या गरेको थियो ।।

– एजेन्सीको सहयोगमा