कञ्चनपुर, १३ कार्तिक । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिकको माग राख्दै नागरिक संघर्ष समिति र निर्मलाका परिवारले फेरि आन्दोलन सुरु गरेका छन् ।

20180911_073225केही समयदेखि रोकिएको आन्दोलन र प्रदर्शन गृहमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै सोमबारबाट सुरु भएको हो । नागरिक संघर्ष समितिको अगुवाइमा निस्केको -यालीले नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छ ।

संघर्ष समितिका संयोजक मीना भण्डारीले घटना भएको तीन महिना बितिसक्दा पनि सरकारले हत्यारा सार्वजनिक नगरेको भन्दै प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताए । निर्मलाका बाबु यज्ञराज, आमाद्वय दुर्गा र लक्ष्मी, भाइबहिनीले संयुक्त रूपमा प्रजिअ अधिकारीलाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।

नागरिक संघर्ष समिति कञ्चनपुरका अगुवा महिला अधिकारकर्मीले एसपी दिल्ली विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई मात्रै कारबाही नगरेर घटनास्थलमा पुगेका तत्कालीन कञ्चनपुरका प्रहरी उपरीक्षक ज्ञानबहादुर सेठी र निर्दोषलाई फसाउन खोज्ने सिआइबीका डिएसपी अंगुर जिसीलाई पनि बर्खास्तीको माग गरेका छन् ।

अधिकारकर्मी माया नेगीले प्रमाण नष्ट गर्न र दोषीलाई उन्मुक्ति दिलाउने सेठी र जिसी भएकाले उनीहरूलाई समेत बर्खास्ती गरेर कानुनी कारबाहीको माग अघि सारेका छन् । नयाँ पत्रिकामा खबर छ- नागरिक समाज कञ्चनपुरका पूर्व अध्यक्ष नरबहादुर साउदले घटना घटेको तीन महिना बितिसक्दा पनि उपलब्धि नभएकाले तिहार र छठसम्म आन्दोलन रोकिने बताए । उनले छठसम्म पनि वास्तविक हत्यारा सार्वजनिक नगरे पुनः सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।