सुर्खेत, १४ असोज । चीन र भारतलाई जोड्ने हिल्सा–जमुनाह त्रिदेशीय सडक निर्माणका लागि प्रारम्भिक सहमति भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको चीन भ्रमणका क्रममा प्रारम्भिक सहमति भएको जनाएको छ ।
सहमतिअनुसार पहिलो चरणमा चीन सरकारको सहयोगमा हिल्सा–जमुनाह सडक निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ । आजको नयाँ पत्रिकामा खबर छ -जसअनुसार तिब्बतसँगको कर्णालीको हिल्सा नाकादेखि भारतसँगको प्रदेश ५ को जमुनाह नाकासम्म सडक निर्माण हुनेछ ।
साताव्यापी चीन भ्रमणबाट फर्केका मुख्यमन्त्री शाहीले दुवै देश जोड्ने त्रिदेशीय सडक निर्माणका विषयमा कुराकानी भएको बताए । ‘चाइना रेलवे कम्पनीसँग हिल्सा–जमुनाह द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न प्रारम्भिक सहमति भएको छ,’ मुख्यमन्त्री शाहीले भने ।
सहमतिअनुसार चाइना रेलवे कम्पनीले सम्भाव्यता अध्ययनपछि प्रदेश सरकारलाई प्रतिवेदन बुझाउनेछ । त्यसका आधारमा संघीय सरकारसँग सम्झौता गरेर यो द्रुतमार्ग निर्माणको काम अगाडि बढाइने सहमति भएको मुख्यमन्त्री शाहीले बताए । ‘कर्णालीको विकास र समृद्धिको मेरुदण्ड भएको हिल्सा–जमुनाह सडक निर्माणले अन्य विकासका आधारहरू तयार गर्नेछ,’ उनले भने ।











